आदेशपालकलाई राष्ट्रपति बनाउनुहुँदैन : महामन्त्री थापा



 बारा । 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैलाई खल्तीको मान्छेलाई राष्ट्रपति बनाउन नहुने बताउनुभएको छ । देशमा अहिले खल्तीबाट निकालेर राष्ट्रपति बनाउने तयारी भइरहेको भन्दै उहाँले आदेशमात्र पालन गर्ने मान्छेलाई राष्ट्रपती जस्तो गरीमामय पदमा पुर्‍याउन नहुने बताउनुभयो ।

बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो  । ‘आदेश पालकलाई राष्ट्रपति बनाएर संविधानको जगेर्ना हुन सक्दैन, महामन्त्री थापाले भन्नुभयो, ‘देशको संविधान बुझेको र विवेक प्रयोग गरेर काम गर्न सक्नेलाई राष्ट्रपति बनाउनु पर्छ ।’

संविधानको भावना विपरीत गएर राष्ट्रपति बनाउन खोजियो भने बल्लबल्ल जोगिएको संविधान फेरि पनि खतरामा पर्ने उहाँले बताउनुभयो । ‘देशको संविधानको भावना नबुझ्ने र त्यसलाई इमानदारिताका साथ पालन गर्न तत्पर रहेको व्यक्तिलाई नै राष्ट्रपति बनाउनुपर्छ ।’ संसद्बाट बहुमतको आधारमा राष्ट्रपति बनाउनुपर्ने उहाँको भनाइ थियो ।

सरकार संचालनको लागि भन्दै सत्तारुढ दलहरुले .गठन गरेको उच्चस्तरीय राजनीति संयन्त्रको पनि महामन्त्री थापाले विरोध गर्नुभयो । ‘सत्तारुढ दलहरुले गठन गरेको भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई पनि संविधानले चिनेको छैन, मानेको छैन, उहाँले भन्नुभयो, वर्तमान सरकार सम्बद्ध दलहरुले नै संविधानको मर्म विपरीत कार्य गरेपछि संविधान संकटमा पर्दै जान्छ ।’

उहाँले सञ्चारमाध्यमले दिनहुँ भैराख्ने सानातिना राजनीतिक घटनामा भन्दा पनि आम नागरिकको समस्या उजागर गर्ने र नागरिकको हित हुने खालका समाचारलाई प्राथमिकतामा राखेर उजागर गर्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्