नेपाली सेनाले आफ्ना लागि आफै बुट उत्पादन गर्ने



काठमाडौँ ।

नेपाली सेनाले आफ्ना सैन्यदेखि अधिकृत सम्मले प्रयोग गर्ने बुठ (जुत्ता) आफै उत्पादन गर्ने भएको छ । यस अघि टेन्डर प्रकृया मार्फत सेनाले प्रयोग गर्ने जुत्ता किन्दै आएको सेनाले अब आफैंले जुत्ता वनाएर आफ्ना कर्मचारीलाई वितरण गर्ने भएको हो ।

नेपाली सेनाको सुन्दरीजल स्थित जग्गामा जुत्ता उत्पादन गर्ने प्लान्ट स्थापना गरेर जुत्ता उत्पादन गर्न लगेको हो । बार्षिक करोडौ रुपियाँ खर्च गरेर कालो रंगको बुठ (जुत्ता) खरिद गर्दै आएको सेनाले आफ्नै प्लान्टबाट जुत्ता उत्पादन गरेर बितरण गर्ने योजनाका साथ अघि बढेको छ ।

नेपाली सेनाले उक्त उद्योग स्थापनाकालागि नेपाली सेनाको सैनिक कल्याणकारी बोर्डबाट ऋण लिएर उक्त उद्योग स्थापना गर्न लागेको सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

नाफा वितरण नगर्ने उद्योगको रुपमा स्थापना भएको उक्त उद्योगले बार्षिक ८७ हजार ५ सय जोर जुत्ता उत्पादन गर्ने भएको छ । नाफा वितरण नगर्ने कम्पनीको रुपमा स्थापना भएको वहु व्यवसाय उद्योगको रुपमा स्थापना भएको उक्त उद्योगले नेपाली सेनाले प्रयोग गर्ने अन्य चिज बस्तुको समेत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

शुरुमा नेपाली सेनाले प्रयोग गर्ने बुठ (जुत्ता) उत्पादन शुरु गरेको भएपनि नेपाली सेनाले प्रयोग गर्ने अन्य प्रकारका जुत्तापनि उक्त उद्योगले उत्पादन गर्ने भएको हो । उक्त उद्योगबाट उत्पादन भएका जुत्ता गैर सैनिक नागरिकको प्रयोगकालागि भने बिक्रि नगरिने पनि नेपाली सेनाले जानकारी दिएको छ ।

सेनाको जुत्ता कारखाना स्वाट कम्पनीको ट्रेडमार्क रहेको ‘ओरिजिनल फुटवेयर कम्पनी’सँगको प्राविधिक सहकार्यमा स्थापना गरेको हो । उक्त कम्पनीसँग प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर नै गरेर सेनाले कारखाना स्थापना गरेको बताएको छ ।

सेनाले बोर्डबाट १४ करोड ऋण लिएर स्थापना भएको सो उद्योगले बुठ (जुत्ता) उत्पादनकालागि चाहिने कच्चा पदार्थ बिभिन्न मुलुकबाट झिकाउने प्रकृया अगाडि बढाएको पनि प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

नेपाली सेनाले आफ्नै उद्योगबाट उत्पादन भएका बुठ (जुत्ता) लागत मुल्यमा केही रकम जोडेर सैनिक जवानदेखि प्रधानसेनापति सम्मलाई बिक्रि गर्ने भएको छ ।
सेनाले यसअघि विदेशी कम्पनीले उत्पादन गरेका सैनिक बुट टेन्डरमार्फत खरिद गर्दै आएको थियो । यसरी हुने खरिद प्रक्रिया एकातर्फ विवादमा पर्दै आएको थियो भने अर्काेतर्फ खरिद गरिएका जुत्ताको गुणस्तरमा समेत समस्या देखिदै आएको थियो ।

उद्योग स्थापना भएपछि जुत्ता खरिदको ठूलो रकम बचत हुने, सैनिकले गुणस्तरीय जुत्ता लगाउन पाउने र रोजगारीसमेत सिर्जना हुने सैनिक प्रवक्ता भण्डारीले बताउनुभयो । सैनिकका लागि बुट खरिदमा वार्षिक करिब १० करोड रुपैयाँ खर्च हुँदै आएको थियो ।

बुठ उत्पादनकालागि सेनाले करारमा कर्मचारी भर्ना गरिसकेको छ भने हरेक बर्ष उत्पादन हुने जुत्ताले सेनालाई जुत्तामा आत्मनिर्भर बनाउदै लैजाने विश्वास समेत सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्