सामुदायिक साकोसले गर्‍यो अर्धवार्षिक समीक्षा

४ अर्ब ३० करोडको कारोबार



काभ्रे। 

सहकारी प्रति विश्वास खस्कँदै गएको, सहकारीहरुले बचत रकम फिर्ता गर्न नसकेको तथा शेयर सदस्य र संचालकहरुबीच मनमुटाव हुन थालेका घटना सार्वजनिक भइरहँदा काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा केन्द्रीय कार्यालय रहेको सामुदायिक साकोसले चालु वर्षको ६ महिनाको समीक्षा गरेको छ ।

समुदायस्तरबाट सञ्चालित उक्त संस्थाले यस अघि बनेपामा रहेको युवा बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरी एकीकृत कारोबार गरिरहेको छ । २०७९ पौष मसान्तसम्म संस्थाले कुल कारोबार रकममा लक्ष्य भन्दा ७ करोड बढी हासिल गर्न सफल भएको छ भने सदस्य संख्या ४९ हजार ८ सय ६९ जना पुगेका छन् । शेयर पुँजी ३९ करोड ७९ लाख रहेको संस्थाको कुल कारोबार ४ अर्ब ३० करोड भएको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिनुभयो । समीक्षा कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक, सल्लाहकारहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

संस्थाका प्रमुख सल्लाहकार दीपक थापा, अध्यक्ष प्रकाश बञ्जारा, उपाध्यक्ष कुमारप्रसाद लामिछाने संस्थाको अवस्था तथा सहकारीले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो । सामुदायिक साकोसमा १ सय १६ कर्मचारी कार्यरत छन् । कुन्तावेशी सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक नारायणप्रसाद लम्साल स्थानीय स्तरमा सहकारीको प्रभावका बारेमा बताउनु भएको थियो ।

नेफ्स्कुनका पूर्व प्रमुख कार्यकारी अधिकृत एवं संस्थाका योजना परामर्श उपसमितिका संयोजक डा. शिवजी सापकोटाले कार्यक्रम र कार्यक्रममा प्रस्तुतिका लागि सुधार गर्नु पर्ने विषयमा धारणा राख्नु भएको थियो । प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको समग्र वित्तीय तथा व्यवस्थापकीय लक्ष्य र प्राप्तिको विवरण र आगामी लक्ष्य प्रस्तुत गर्नु भएको थियो ।

संस्थाले तयार गरेको पञ्चवर्षीय रणनीतिक योजना अनुरुप आ.व.२०७९०८० को लागि निर्धारित लक्ष्यमा २०७९ श्रावण १ गतेदेखि २०७९ पुस मसान्त सम्मको वित्तीय तथा गैर वित्तीय लक्ष्यमा भएको प्राप्ति तथा लक्ष्य प्राप्तिका क्रममा गरिएका कृयाकलापहरु देखिएका समस्या तथा त्यसका समाधानका लागि तयार पारिएका योजना र सोही अनुरुप समयसीमा भित्र लक्ष्य हासिल गर्ने प्रतिबद्धता विभागीय प्रमुख र सेवाकेन्द्र प्रमुखहरुले प्रस्तुतीकरण गरेका थिए ।

अध्यक्ष प्रकाश वन्जाराले लक्ष्य प्राप्तिमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै संस्थाको सक्षमता कायम राखी विकास र विस्तारका लागि आवश्यक संसाधन र स्रोतको व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्