आइएफआरसीका महासचिव नेपाल भ्रमणमा आउँदै



काठमाडौं । विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको संगठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्ने भएका छन् ।

प्रथम नेपाली महासचिव चापागाईंले आफ्नो पद सम्हालेपछि दोस्रो पटक चारदिने नेपाल भ्रमण गर्न लागको हुन् । भ्रमणका क्रममा उनले आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रस सोसाइटीका गतिविधिका बारेमा जानकारी लिने बताइएको छ । उनले भ्रमणका क्रममा राजनीतिक दलका शीर्ष नेतासँग समसामयिक विषयमा छलफल गर्ने बताईएको छ ।

साथै भ्रमणका क्रममा उनी आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्न लागिएका ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।

आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वोच्च परोपकारी संगठन आइएफआरसीले सन् २०२२ मा नेपाल रेडक्रसलाई ‘डबल क्याबिन’ भएका १० ‘पिकअप गाडी’ हस्तान्तरण गरेको थियो । साथै आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिकीकरण कार्यक्रममा उनी सहभागी हुने जनाइएको छ ।

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील चापागाईँले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका थिए । सो जिम्मेवारी सम्हालेपछि उनले विसं २०७८ माघ १८ मा पहिलो नेपाल भ्रमण गरेका थिए । -रासस

प्रतिक्रिया दिनुहोस्