पक्राउ परेका सांसद चौधरीलाई आज अदालतमा पेस गरिने, हिरासतमा काटे एक रात

विरोधमा उन्मुक्ति पार्टी



धनगढी।

बाँकेबाट पक्राउ गरेर धनगढी ल्याइएका नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधि सभा सदस्य अरूणकुमार चाैधरीलाई आज अदालतमा पेस गरिने भएको छ। हिजो बेलुका चौधरीलाई बाँकेबाट काठमाडौं हुँदै धनगढी पुगाइएकोमा आज (शुक्रवार) १० बजेपछि जिल्ला अदालत कैलालीमा पेस गरिने भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जाेशीले चाैधरीलाई आजै अदालत पेस गरिने जानकारी दिए। चौधरीलाई हिजो राति जिल्ला प्रहरी कार्यालय कैलालीकै हिरासतमा राखेको पनि उनले बताए। चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।

चौधरीलाई समातेर हिजो श्री एयरलाइन्सको नियमित उडान नम्बर एसएचए ४३९ मा काठमाडौं लगिएको थियो। त्यसपछि प्रहरी निरीक्षक चक्रडमर पालको नेतृत्वमा दुई जना सुरक्षाकर्मीको निगरानीमा उनलाई काठमाडौंबाट पनि पुनः बेलुका सोही एयरलाइन्सको उडान नम्बर एसएचए २२७ बाट धनगढी ल्याइएकाे थियो।

अपराध अनुसन्धान महाशाखाकाे टाेलीले उनलाई बाँकेको बैजनाथ गाउँपालिका–२, गावरबाट पक्राउ गरेको थियो।

करीब १३ वर्ष अघिको आगजनीकाे मुद्दामा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय सुनाएकाे थियाे। सोही फैसला कार्यान्वयनको निम्ति चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नागरिक उन्मुक्ति पार्टी विरोधमा उत्रियो

यता, आफ्ना प्रतिनिधि सभा सदस्य पक्राउ परेका विरोधमा नागरिक उन्मुक्ति पार्टीले आन्दोलन गर्ने भएको छ। बिहीबारचाैधरी पक्राउ गरेपछि कैलालीको बाैनियामा प्रदर्शन गरेकाे उन्मुक्तिले आज कैलालीमा यातायात र बजार बन्द गर्ने भएको छ। यस्तै नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पनि सुनियोजित रुपमा आफूहरुमाथि प्रहार हुन थालेको बताएकी छन्। ‘उहाँ (अरुण) लाई सुनियोजित ढंगले पक्राउ गरिएको छ’ उनले भनिन्, ‘९ वर्षदेखि फरार भनिएको छ। यो बीचमा उहाँले अन्य पार्टीबाट मेयर र प्रदेशसभाको निर्वाचन पनि लडिसक्नु भएको छ त्यो बेला फरार नहुने अहिले नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएर माननीय भइसकेपछि फरार भन्ने हुन्छ ?’

निर्वाचित सांसदलाई फरार सूचीमा राखेर पक्राउ गर्नुले सरकारका विषयमा सोच्न बाध्य बनाएको पनि उनले बताइन्। उनले थपिन्,‘उहाँलाई फसाइएको हो भन्ने कुरा प्रस्ट छ, रिहा नहुँदासम्म म उहाँसँगै हुन्छु।’ उनी हिजो अरुणसँगै धनगढी पुगेकी थिइन्। जिल्ला प्रहरी कार्यालयमा पनि सँगै पुगेकी उनले आज अदालत पनि जाने बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्