सांसद अरुणकुमार चौधरी पक्राउ



बाँके । प्रतिनिधि सभा सदस्य अरुण चौधरी पक्राउ परेका छन् ।

दश वर्षदेखि फरार सूचीमा रहेका सांसद चौधरीलाई प्रहरीले बिहीबार बाँकेको गाभरबाट पक्राउ गरेको छ । प्रहरीको प्रदेश ब्युरो र इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले सांसद चौधरीलाई पक्राउ गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीलाई ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैद र बिगोको फैसला सुनाएको थियो । कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते ६ महिना कैद र ८ लाख १८ हजार ४ सय २३ रुपियाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । उक्त घटनामा अरुणसहित परशुराम चौधरी र वीरबहादुर चौधरीलाई दोषी ठहर गरेर कैद र जरिवाना तोकिएको थियो ।

तत्कालीन बलिया गाविस–५ का महादेव बजगार्इंले २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै चौधरीविरुद्धमा २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तिनै जनालाई जनही ६ महिना कैद र बिगो रकम असुल्न आदेश गरेको थियो ।

२०७४ को चुनावमा लम्कीचुहाको मेयर र प्रदेश सभा सदस्यमा पराजित भएका चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा विजयी भएका थिए । आफूसँगै मेयरमा चुनाव लड्नेदेखि प्रतिनिधिसभा सदस्यमा चुनाव लडेर जित्ने बेलासम्म प्रहरी र कसैले कुनै वास्ता नगरेको चौधरीको भनाइ छ ।

चौधरीलाई प्रहरीले पक्राउ गरेपछि नागरिक उन्मुक्ति पार्टीले विरोध गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । सांसद चौधरीलाई साँझ ६ बजे श्री एयरको जहाजबाट काठमाडौं लगिएको छ । सांसद चौधरीलाई लिएर जिल्ला प्रहरी कार्यालय, बाँकेको टोली काठमाडौं गएको छ ।

प्रतिक्रिया दिनुहोस्