सुनको भाउ ६ वर्षमा दोब्बर

९ किलो सुनसहित माहगोब पक्राउ



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपियाँ पुगेसँगै हालसम्मकै उच्च मूल्यको रेकर्ड राखेको हो ।

बुधबार तोलामा ५ सय रुपियाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपियाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय तथा तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपियाँमा कारोबार भएको थियो ।

यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । सो दिन प्रतितोला १ लाख ६ हजार ९ सय रुपियाँ पुगेको थियो । त्यसै गरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपियाँमा कारोबार भएको थियो । बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपियाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो ।

पछिल्लो ६ वर्षमा सुनको मूल्य दोब्बर वृद्धि भएको छ । २०७३ माघ महिनामा सुनको मूल्य प्रतितोला ५५ हजार रुपियाँको हाराहारीमा कारोबार भएको थियो । त्यति बेलासम्म सामान्य उतारचढाव रहेको भाउ त्यसपछि भने निरन्तर बढ्दै गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७४ माघ महिनामा सुनको मूल्य प्रतितोला ५७ हजार रुपियाँको आसपासमा कारोबार भएको थियो । त्यस्तै, २०७५ साल माघ महिनामा प्रतितोला ६२ हजार रुपियाँमा कारोबार हुँदै आएको सुन २०७६ माघसम्म आइपुग्दा ह्वात्तै बढेर प्रतितोला ७५ हजार रुपियाँसम्म पुग्यो । कारोना महामारीका कारण अर्थतन्त्र ठप्प हुँदा पनि सुनको भाउ उर्लिरह्यो । यो क्रमले २०७७ माघमा पनि निरन्तरता पायो, त्यतिबेला सुन प्रतितोला करिब ९३ हजार रुपियाँसम्ममा कारोबार भएको थियो ।

अघिल्ला दुई वर्षको तुलनामा २०७८ माघमा सुनको भाउ खासै वृद्धि भएन यस वर्ष प्रतितोला ९४ हजार रुपियाँसम्म कारोबार भएको थियो । त्यसपछि भने सुनको भाउले १ लाख रुपियाँ नाघेर कारोबार हुँदै आएको छ । तीन महिना अघिसम्म ९५÷९६ हजार रुपियाँ प्रतितोला सुनको कारोबार हुँदै आएकोमा दुई महिनादेखि भने निरन्तर बढ्दै गएको छ ।

मंसिरमा विवाहको सिजन भएकाले मूल्य बढे पनि कारोबार धेरै भएको व्यवसायीहरू बताउँछन् । तर, माघमा लगन धेरै भए पनि नयाँ सुनको माग भने तुलनात्मकरूपमा कम रहेको व्यवसायीहरू बताउँछन् । पुराना गहनालाई मर्मत गर्नेदेखि बिक्रीसमेत गर्ने ग्राहक बढिरहेको न्युरोडका सुन व्यापारीहरूको भनाइ छ ।

९ किलो सुनसहित माहगोब पक्राउ

अवैध रूपमा लुकाई ल्याएको ९ किलो सुनसहित एक विदेशी नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट पक्राउ गरेको छ । प्रहरीले दुबईबाट काठमाडौं आएका क्यानेडियन नागरिकलाई उक्त सुनसहित विमानस्थल परिसरबाट पक्राउ गरेको हो ।

दुबईबाट काठमाडौं आएका ती क्यानेडियन नागरिकलाई विमानस्थलमा चेकजाँच गर्ने क्रममा उक्त परिणामको सुन लुकाएर ल्याएको अवस्थामा फेला पारी अनुसन्धान शुरू भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त सुनसहित पक्राउ पर्नेमा क्यानेडियन नागरिक मोहम्मद कमल माहगोब रहेको प्रहरीले जानकारी दिएको छ । फ्लाइ दुबईको उडानमा आएका मोहम्मदलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । उनी फ्लाई दुबईको एफ–२५७३ विमानमार्फत काठमाडौं आएका थिए । पक्राउ परेका माहगोव पहिलोपटक नेपाल आएको पनि प्रहरीले जानकारी दिएको छ ।

क्यानेडियन नागरिकमाथि थप छानबिन गर्न प्रहरी वृत्त गौशालाको जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयले जानकारी दिएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्