स्ववियु निर्वाचन २०७९ : चैत ५ गते स्थगित भए ३० दिनभित्र गर्नैपर्ने व्यवस्था



काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोलिए, भाँडिए वा स्थगित भए त्यसको ३० दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले उपत्यकाका २१ र उपत्यका बाहिरका ३९ वटा क्याम्पस प्रमुखसँग छलफल गरी चैत ५ गते निर्वाचन गराउन नसके त्यसको ३० दिनभित्र अर्थात वैशाख ५ गतेसम्म निर्वाचन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अनुगमन तथा समन्वय समितिले मंगलबार उपत्यका र बुधबार उपत्यका बाहिरका क्याम्पस प्रमुखसँग बैठक गरेको थियो । त्रिविले १५ बुँदे स्ववियु निर्वाचन आचारसंहितासम्बन्धी निर्देशिका–२०७९ बारे छलफल गरेको थियो । बैठकमा सबै क्याम्पस प्रमुखले चालु शैक्षिक सत्रको सबै तहको पठनपाठन सकिएको जानकारी दिँदै निर्वाचन गराउने प्रतिबद्धता जनाएको जानकारी दिँदै समितिका सदस्यसचिव प्रा. पशुपति अधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उपत्यका बाहिरका ३९ क्याम्पस प्रमुखले जस्तोसुकै परिस्थिति भए पनि निर्वाचन गर्ने वचन दिनुभएको छ । यदि चैत ५ गते निर्वाचन हुन नसके ३० दिनभित्र गर्नेगरी सबै क्याम्पस प्रमुखले प्रतिबद्धता जनाउनुभएको छ ।’

उपत्यकाका क्याम्पस प्रमुखको बैठकमा उपत्यकाको महाराजगंज र कृषि क्याम्पसको क्याम्पस प्रमुखको उपस्थिति थिएन भने उपत्यका बाहिरको जुम्लाबाहेक सबै क्याम्पस प्रमुखको उपस्थिति रहेको थियो । पाटन संयुक्त क्याम्पसका क्याम्पस प्रमुख डा.लक्ष्मणसिंह कुँवरले बैठकमा सबै क्याम्पस प्रमुखहरू स्ववियु निर्वाचन गर्ने पक्षमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हामीले सके शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नेछांै, नभए सुरक्षाकर्मी परिचालन गरेर भए पनि निर्वाचन सम्पन्न गर्ने वचनबद्धता जाहेर गरेका छौं ।’ उहाँका अनुसार समितिका संयोजक रेक्टर प्राडा शिवलाल भुषालको अध्यक्षतामा निर्वाचन सम्पन्न गर्ने विषयमा उपत्यकाका सबै क्याम्पस प्रमुख तयार छन् ।

समितिका सदस्यसचिव प्रा. अधिकारीले बैठकपछि समितिले निर्देशिका जारी गर्ने जानकारी दिँदै फागुनको ५ गतेभित्र कार्यतालिका जारी गरिने सम्भावना रहेको बताउनुभयोे । उहाँका अनुसार आज शुक्रबारसम्ममा निर्देशिकालाई अन्तिम रूप दिने र सबै क्याम्पसमा सर्कुलर जारी गरिनेछ । समितिले आइतबार साँझ २२ विद्यार्थी संगठनसँग छलफल गरी १५ बँुदे निर्देशिका तयार गरेको थियो ।

अधिकारीका अनुसार समितिले निर्देशिकामा केही संशोधन गर्नुपर्ने विषयलाई समावेश गरी एकदुई दिनभित्र विद्यार्थी संघ–संगठन र क्याम्पसमा पठाउने तयारी गरेको छ । त्यसपछि सबै क्याम्पसले क्याम्पसका विद्यार्थी संघ संगठनसँग सर्वदलीय छलफल आयोजना गर्नेछ । पाटन क्याम्पसले आज शुक्रबार सबै विद्यार्थी संगठनसँग छलफल गर्ने तयारी गरेको छ ।

यो निर्वाचनमा त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को नीति ३४९ बमोजिम २ सय जनासम्म विद्यार्थी भएकोमा ११ सदस्यीय, २ सय १ देखि १ हजारसम्म विद्यार्थी भएकोमा १५, १ हजार १ देखि ३ हजारसम्म १९ र ३ हजार १ देखि माथिको संख्यामा विद्यार्थी संख्या रहेमा २१ जनाको कार्यसमिति हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्