म्याग्दीको पर्यटकीयस्थल केभहिलमा पर्यटकको चहलपहल बढ्यो (तस्बिरसहित)



 म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा घुमफिर गरेर रमाउनका लागि पर्यटकीय स्थलहरु थुप्रै छन् । अग्ला टाकुरा, डाँडाकाँडा, तालतलैया, भन्ञ्याङ–चौतारी, झरना, गुफालगायत पर्यटकीय स्थलहरु यहाँ पर्दछन् । तीनै पर्यटकीय क्षेत्रको भ्रमण तथा अवलोकन गर्न पछिल्लो समय आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् ।
म्याग्दीमा रहेका पर्यटकीय स्थलहरुमध्ये बेनी नगरपालिकाभित्र पर्ने केभहिल अर्थात् गुफाको डाँडो पनि एक हो । बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँमा पर्ने पर्यटकीय गन्तव्य केभहिल अहिले पर्यटकको रोजाइमा परेको छ । यतिबेला शिशिर ऋतुको समय मौसम सामान्यभन्दा चिसो छ । यही चिसो मौसमको कुनै प्रवाह नगरी केभहिलमा पर्यटकहरु पुगेका छन् । मौसम सफा भएकाले केभहिल पनि स्पष्टसँग खुलेको छ ।

शरद ऋतुमा जस्तै गरी मौसम खुलेको हुँदा केभहिलबाट देखिने सेताम्य हिमालहरु मुस्कुराइरहेका छन् । यदि तपार्इँ गाजेन गाउँ, प्रसिद्ध जगन्नाथ मन्दिरको दर्शन तथा केभहिलको भ्रमणमा जानुहुन्छ भने हिमालसँगै मित लगाउन सक्नुहुन्छ । केभहिलमा पुगेर उत्तर पूर्वतिर फर्किएर हेर्ने हो भने धित मरुन्जेलसम्म हिमालको अवलोकन गर्न पाइन्छ । केभहिलको डाँडाबाट म्याग्दीखोला र पवित्र कालीगण्डकी नदी आसपासको मनोरम दृश्यावलोकनसँगै नागबेली डाँडाकाँडा र अग्ला हिमालचुलीहरु देख्न सकिन्छ ।

 

गाजने गाउँसम्म पुग्ने सडकको पहुँच विस्तार, धार्मिक तथा पर्यटकीयस्थलमा पूर्वाधारहरु निर्माण तथा प्रचारप्रसार हुन थालेपछि केभहिल पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै जान थालेको स्थानीयवासी बताउँछन् । मौसम खुलेको समयमा धौलागिरि रेञ्ज र अन्नपूर्ण रेञ्जका सबै हिमालहरु छर्लङ्गै देखिन्छन् । संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालमा मात्रै विभिन्न ६ ओटा चुचुराहरु पर्दछन् । यसैगरी दशौं अग्लो हिमाल अन्नपूर्णमा चारवटा चुचुरा रहेका छन् । पर्यटकीय स्थल केभहिलबाट धौलागिरि र अन्नपूर्णसँगै निलगिरी, माछापुच्छे«े, मानापाथी, गूर्जा, चुरेनलगायत झण्डै डेढ दर्जन हिमालहरु प्रत्यक्ष देख्न सकिन्छ । केभहिलबाट हिमाली जिल्ला म्याग्दीको ४१ मध्ये साविकका ३६ वटा गाविसहरु देखिन्छन् ।

समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित केभहिलको डिलबाट चारैतिरको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यसैगरी यहाँबाट छिेमकी जिल्ला पर्वतको उत्तरी जलजला गाउँपालिकासहित बागलुङको पर्यटकीय तथा धार्मिक क्षेत्र पञ्चकोटलगायत अन्य जिल्लाको डाँडाकाँडाहरु समेत देख्न पाइन्छ । गाजने गाउँको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर केभहिलमा भ्यु–टावर बनाइएको छ भने भ्यु–टावरको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

जगन्नाथ मन्दिरको दर्शन र पुजा गर्न आउने तथा पुलाचौर र घतानमा कार्यक्रम लिएर जानेहरु एकैछिन भए पनि पर्यटकीय स्थल केभहिलसम्म पुगेर रमाउने गरेका छन् । हेर्दा निकै सुन्दर, आकर्षक र मनमोहक दृश्यहरु देख्न पाइने पर्यटकीय स्थल केभहिलले पर्यटकहरुलाई लोभ्याउँछ । पोखरादेखि कार्यक्रमको सिलसिलामा म्याग्दी आउनुभएकी आन्तरिक पर्यटक जमुना वर्षा शर्माले केभहिलको भ्रमण गर्न पाउँदा आफूलाई निकै रमाइलो लागेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै पटक समाचारमा केभहिलको बारेमा सुनेकी थिएँ । अहिले यहाँ आउन पाउँदा स्वर्गमै पगेको जस्तो अनुभूति भयो । धेरै नै रमाइलो लाग्यो, अब यसको विकास गर्नुपर्छ ।’

पर्यटकीय स्थल केभहिल र गाजेन गाउँसम्म सडकको पहुँच विस्तार भएकाले पछिल्लोपटक भ्रमण गर्ने पर्यटकहरु बढेका छन् । म्याग्दी सदरमुकाम बेनीदेखि पुलस्त्य पुलहाश्रम–ढोल्ठान भएर जगन्नाथ जोड्ने पदमार्गको पनि निर्माण थालिएको छ । बेनी नगरपालिकाभित्र केभहिलसँगै रत्नेचौरको तोरीबारी, भकिम्लीको स्वर्गाश्रम, बेलढुङ्गा, ऐतिहासिक ज्यामरुककोत, तातोपानी कुण्ड, पुलस्त्य–पुलहाश्रम, जगन्नाथ, डढेकोत, जलेश्वर, कालीगण्डकी नदी, गलेश्वर, ढोल्ठान राजदरबारलगायत धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरु पर्दछन् ।

बेनी नगरपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलमा पूर्वाधार विस्तार गर्नका लागि आवश्यक पहल थालिएको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बेनी नगर क्षेत्रभित्र कृषि र पर्यटनलाई प्रमुख आम्दानीको रुपमा बेनी नगरपालिकाले पहिचान गरेर अगाडि बढेको छ । बेनी नगरपालिका भित्रको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल जगन्नाथ र केभहिलको भ्यु–टावरसहित डढेकोत राजदरबारलाई बेनीबाट हामीले केबुलकारमार्फत जोड्ने गरी डिपिआर बनाउँदैछौं र त्यसलाई एउटा समिति बनाएर अगाडि बढाएका छौँ ।

बेनी नगरपालिकाले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र अब निजी क्षेत्रले राज्यको पनि लगानी चाहिन्छ, स्थानीय सरकारले पनि लगानी गर्नुपर्छ भन्ने गरी उहाँहरुले डिपिआर बनाएर प्रोजेक्ट तयार गरेपछि त्यसमा नगरपालिकाले पनि सेयर हाल्न तयार छ । तर हामी के चाहन्छौं भने निजी क्षेत्रलाई नै लगानी गर्न दिउँ र निजी क्षेत्रले आम्दानी गर्ने तरिकारले वातावरण तयार गर्‍यो भने त्यो दिगो रहन्छ । त्यसैले निजी क्षेत्रको अगुवाइमा केबुलकारको विकास गरी यो क्षेत्रको विकासमा हामी अगाडि बढेका छौँ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्