त्रिविले शुरु गरेको विद्युतीय हाजिरी प्रभावकारी बन्दै, प्राध्याकहरू कक्षामा नियमित उपस्थित



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्युतीय हाजिरी प्रणाली शुरु गरेसँगै पठनपाठन प्रभावकारी बन्दै गएको छ । शैक्षिकसत्र २०७१÷०७२ बाट यो प्रणाली शुरु गरिएसँगै पठनपाठन प्रभावकारी बन्दै गएको हो ।

यसअघि परम्परागत रूपले हाजिरी रजिष्टरमा गरिँदै आएको हाजिरले पठनपाठनमा सामान्य प्रभाव परे पनि विद्युतीय हाजिरी प्रणाली शुरु गरेसँगै निकै प्रभावकारी बन्दै गएको राजनीतिशास्त्र (शिक्षा) केन्द्रीय विभागका प्रमुख श्यामप्रसाद फूएलले बताए ।

प्रमुख फूएलका अनुसार, ‘विद्यतीय हाजिरी प्रणालीले विश्वविद्यालयमा नियमित उपस्थित हुनुपर्ने अवस्था छ । यसले पठनपाठनलाई प्रभावकारी बनाउने र शिक्षक, प्राध्यापक र विद्यार्थीहरूबीच निकट हुने वातावरण सिर्जना गरेको छ ।’

त्रिविद्वारा सम्बन्धन प्राप्त क्याम्पसहरूमा पनि यसको प्रभावकारीता बढ्दै गएको छ । दुर्गम र विकटका केही क्याम्पसमा यो प्रविधि लागू नभए पनि विस्तारै लागू गरिने शिक्षाशास्त्र संकायका डीन चित्रबहादुर बुढाथोकी मगरले जानकारी दिए ।

विश्वविद्यालय र क्याम्पसहरूको शैक्षिक गुणस्तर खस्किँदै गएको अवस्थामा विद्युतीय हाजिरी प्रणालीले गुणस्तरमा थप सुधार ल्याएको त्रिविले जनाएको छ । यो प्रणाली लागू नहुँदै शैक्षिक गुणस्तर खस्किँदो अवस्थामा थियो ।

यद्यपि त्रिवि र सम्बन्धन प्राप्त क्याम्पसमा यो प्रणाली लागू भए पनि केही समय यता प्रायः प्रयोगमा ल्याइएको थिएन । यस विषयमा चौतर्फी विरोध भएसँगै प्रभावकारी ढंगबाट प्रयोगमा ल्याएको त्रिविले बताएको छ ।

त्यस्तै शैक्षिकसत्र २०७९÷०८० को असोज १ गतेबाट विद्युतीय हाजिरमा फेसियल रिडर प्रयोगमा ल्याइएसँगै अझैँ प्रभावकारी बनेको पद्यकन्या क्याम्पसले बतायो ।

यसअघि हाजिर भए पनि सम्पूर्ण विवरण प्राप्त हुँदैन्थ्यो । तर, फेसियल रिडर प्रयोगमा आएसँगै प्राध्यापक, शिक्षकको हाजिर र उपस्थिति भएको प्रमाणित हुने उक्त क्याम्पस प्रशासन बताउँछ ।

विद्युतीय हाजिरसँगै फेसियल रिडरको प्रयोगले आजभोलि त्रिवि र सम्बन्धन प्राप्त क्याम्पसहरूको पठनपाठन र शैक्षिक गुणस्तरमा विस्तारै सुधार हुँदै आएको अनेरास्ववियू (क्रान्तिकारी) पद्यकन्या क्याम्पस समितिकी अध्यक्ष तृष्णा आले मगर बताउँछिन् ।

अध्यक्ष आले भन्छिन्, ‘विश्वविद्यालय, क्याम्पसमा विलम्ब उपस्थित हुने, हाजिरी मनोमानी गर्ने र पठनपाठनमा हेलचक्र्याई गर्ने प्राध्यापक र शिक्षकका लागि विद्युतीय हाजिरले सुधार गरेको छ । यो प्रणाली प्राध्यापक र शिक्षकका लागि मात्रै नभएर विद्यार्थीहरूका लागि पनि लागू गर्नुपर्छ । यो प्रणाली लागू गरिदा क्याम्पसमा विद्यार्थीहरूको पठनपाठन र नियमित उपस्थिति बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्