झापामा १२५ चेक बाउन्सको मुद्दा दर्ता 



भद्रपुर ।

चालु आर्थिक वर्षको ६ महिनामा झापामा १२५ वटा चेक बाउन्सको मुद्दा दर्ता भएको छ । पछिल्लो समय चेक काटेर दिँदैमा केही पनि असर नपर्ने ठानेका कारण बाउन्स चेकको मुद्दा बढेको हो ।

बैङ्किङ कसुरमा मुद्दा लागेका व्यक्तिलाई बिगो बराबरको जरिवाना र बिगो अनुसारको एकदेखि पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहे पनि मुद्दा दर्तामा भने वृद्धि भइरहेको हो ।  जिल्लामा बाउन्स चेकको मुद्दाको  तथ्याङ्क अनुसार साउनमा १६, भदौमा २१, असोजमा ९, कार्तिकमा १४, मंसिरमा २९ र पुसमा ३६ गरी ६ महिनामा जम्मा १२५ वटा बाउन्स चेकका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  छ ।

बैङ्किङ कसुरमा मुद्दा लागेका व्यक्तिलाई बिगो बराबरको जरिवाना र बिगो अनुसारको एकदेखि पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । पछिल्लो समय चेक काटेर दिँदैमा केही पनि असर नपर्ने ठानेका कारण बाउन्स चेकको मुद्दा बढेको जिल्लाका डिएसपी वसन्त पाठकको भनाई छ । प्रवक्ता पाठकका अनुसार जिल्लामा तुलनात्मक हिसाबले बिर्तामोड र दमकमा यस प्रकारका मुद्दा धेरै आइरहेको उहाँले जनाउनुभयाे ।

बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले चेक बाउन्सका मुद्दा लिएर आउनेहरूलाई अधिकतम मेलमिलापका लागि प्रयास गर्ने गरिएको बताउनुभयो । कारोबारको प्रकृति अनुसार मात्रै चेक बाउन्सको मुद्दा प्रहरीले हेर्ने गरेको बताउनुभयो ।सुरुमा दुवै पक्षलाई कारोबार मिलाउन अनुरोध गर्ने गरिएको  र मिलाउने प्रयास गर्दा पनि व्यवहार मिलाइएन भने कारोबारको प्रकृति अनुसार मुद्दा अघि बढ्ने उहाँको भनाइ छ ।

औपचारिक कारोबार मात्रै प्रहरीले हेर्ने गरेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय अनौपचारिक कारोबार गर्ने , कारोबारको कुनै प्रमाण नहुँदा  मुद्दा हेर्न समस्या हुने गरेको कुँवरको भनाइ छ ।  बिर्तामोडमा पछिल्लो समय बाउन्सको मुद्दा बढिरहेको उहाँको भनाई छ ।

व्यावसायिक साझेदारी, सरसापट र व्याजमा लगाउनेहरू चेक बाउन्सको उजुरी लिएर प्रहरीसम्म पुग्ने गरेको उहाँले जनाउँनुभयो । २-४ लाखको चेक बाउन्स आयो भने दुई पक्षलाई मेलमिलापका लागि सहजीकरण प्रहरीले गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

मिटरव्याजी कारोवारीहरु प्रहरीसम्म नपुग्ने गरेको उहाँको भनाइ छ ।  मिटरव्यानजीहरुले अनौपचारिक कारोबार गर्ने गरेको पाइन्छ । जसको प्रमाण नहुँदा प्रहरीसम्म उजुरी पुग्ने गरेको छैन । बिर्तामोडमा २ करोडसम्मको चेक बाउन्सको मुद्दा आएको डिएसपी कुँवरले जानकारी दिनुभयो । झापामा दर्ता भएका चेक बाउन्सका मुद्दामा उच्च अदालत इलामले हेर्ने गरेको छ । प्रहरीका अनुसार चेक बाउन्सको उजुरी परेपछि फोन सम्पर्क गर्दा सम्पर्क नआउने र सम्पर्कबाट भाग्नेको छिट्टो मुद्दा दर्ता हुने गरेको छ ।

भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता भयो भने त्यो ‘चेक बाउन्स’हुनु हो । खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । एउटै चेक धेरै पटक बाउन्स भएको खण्डमा त्यसलाई बैंकिङ कसुरका रूपमा लिने गरिन्छ ।

एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैंकमा खाता खोल्न तथा ऋण लिन पाउनेसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था पनि छ । साथै, चेक बाउन्स भएको खातावालालाई जेलको सजाय पनि हुन्छ ।बैंक तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी गराउँछन् ।

यसरी खातामा रकम अपर्याप्त भएका कारण फिर्ता भएको चेक पुनः बैंकमा भुक्तानीका लागि आयो र त्यतिखेर पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नुपर्यो भने कर्जा सूचना केन्द्रमा कारबाहीका लागि बैंक तथा वित्तीय संस्थाले उजुरी दिन्छन् । हरेक पटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट भने माग्नुपर्छ ।

चेक बाउन्स हुँदा बैंकले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्दछन् । यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैंक आफैले जानकारी दिने गर्दछ । तीन पटकसम्म पनि चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले नै सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी गर्नुपर्छ ।

कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्