जापानी राजदुतद्वारा नेत्रज्योति संघलाई स्वास्थ्य उपकरण हस्तान्तरण



काठमाडौं ।

 जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्य सम्बन्धी उपकरणहरु हस्तानान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपालका लागि जापानी राजदुत किकुता युताकाले आज बुधबार किर्तिपुर आँखा अस्पतालमा आयोजित एक कार्यक्रमा उक्त सामाग्रिहरु हस्तान्तरण गर्नुभएको हो । रेटिना रोगको उपचारसंग सम्बन्धीत करिब १ करोड ८५ लाख नेपाली रुपैयाँ बराबरका स्वास्थ्य सामाग्रिहरु जापान सरकारको ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट प्रोजेक्ट (जीजीपी) कार्यक्रम अन्तरगत अनुदानमा प्रदान गरिएको हो ।

नेपाल नेत्रज्योति संघद्धारा बि.स २०७२ सालमा आँखा उपचार केन्द्रका रुपमा स्थापना भएको किर्तिपुर आँखा अस्पताललाई बि.स २०७४ सालमा आँखा अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । स्थापनाकाल देखि नै अस्पतालले आम नागरिकहरुलाई सर्वसुलभ मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रदान गर्दै आईरहेको छ ।

यस अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरिय बनाउन आवश्यक स्वास्थ्य उपकरणहरु प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा बि.स २०७७ साल कार्तिक १९ नेपाल स्थित जापानी राजदुतावास र नेपाल नेत्रज्योति संघका बिचमा हस्ताक्षर भएको थियो ।सन् २०२२ मा अस्पतालले २३ हजार ५ सय ४० जनालाई आँखा उपचार सेवा प्रवाह गरेको थियो भने हाल सम्म अस्पतालबाट करिब ७ हजारभन्दा बढि व्यक्तिको आँखाको शल्यक्रिया भइसकेको छ जसमध्येमा करिब ३ हजार जनाको शल्यक्रिया निःशुल्क भएको जानकारी गराईयो ।

अस्पतालले हाल काठमांडौ र ललितपुरमा गरी जम्मा ४ वटा आँखा उपचार केन्द्रहरु समेत सञ्चालन गरिरहेको छ । काठमांडौका शंखरापुर नगरपालिकामा साँखु आँखा उपचार केन्द्र, दक्षिणकाली नगरपालिकामा दक्षिणकालि आँखा उपचार केन्द्र र चन्दा्रगिरी नगरपालिकामा चन्द्रागिरी आँखा उपचार केन्द्र रहेका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकामा लुभु आँखा उपचार केन्द्र सञ्चालनमा रहेको जानकारी गराईयो

। हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १ सय ५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुउन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको जनाएकोछ । यो सेवाबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् नेपाल नेत्रज्योती संघका कम्युनिकेशन मेनेजर कृष्ण भटराई भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्