छक्का पञ्जा ४ को आँट गरेनौ भने यो माघैमा धमाकेदार दर्शन सलाम



नामको हिसाबले सुपरहिट सिक्वेल सावित फिल्म छक्का पञ्जाको नामकै आधारले चार वर्षपछि निर्मित नयाँ सिक्वेल छक्का पञ्जा ४ ले शुरुमै धमाकेदार गीत र त्यसको भिडियो सार्वजनिक गरेर दर्शकलाई आकर्षित गरेको छ ।

सोमबार साँझ ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक दर्शन सलाम बोलको गीतले मंगलबार साँझसम्म आठ लाख भ्युज पाइसकेको छ । ग्रामीण चुनावी माहोलमा तयार पारिएको गीतमा यसका कोरियोग्राफरले फिल्मका मुख्य कलाकारहरूलाई आकर्षक र यथोचित ढंगले प्रस्तुत गरेका छन् भने दर्जनौं कोरस कलाकारलाई समुचित प्रयोग गरेर उत्कृष्ट कोरियोग्राफीको नमुना पेश गरेका छन् ।

यो वर्षकै अर्को बहुप्रतिक्षित फिल्म मानिएको छक्का पञ्जा ४ को यो गीत डेभिड शंकर र सहिमा श्रेष्ठको युगल स्वरमा छ भने राजेन्द्र थापाको शब्द रचना र दीपक शर्माको संगीत छ । गीतको भिडियोमा यसका मुख्य कलाकारहरू दीपकराज गिरी, दिपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, राज आचार्यलगायत कलाकारलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा दीपकराज गिरी र दीपाश्री निरौला तथा राज आचार्य र स्वस्तिमा खड्कालाई जोडीको रूपमा प्रस्तुत गरिएको छ । हेमराज बिसीको निर्देशन रहेको फिल्मले यसपटक शहरको कथा बोल्ने जनाइएको छ ।

आगामी फागुन १९ गते अल नेपाल रिलिज हुने फिल्म आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुतिमा निर्माण भएको छ भने फिल्ममा दीपकराज गिरीको कथा, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व र नरेन्द्र मैनालीको डीओपी रहेको छ ।

दीपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य, वेदना राई, सुष्मा निरौलालगायतका कलाकारको अभिनय रहेको फिल्म दीपेन्द्र खनियाँ र केशव न्यौपानेले निर्माण गरेका हुन् भने केदार घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्