लुम्बिनी प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टी बाहिरियो



रुपन्देही । लुम्बिनी प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टी बाहिरिएको छ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो ।

हिजो (सोमबार) उक्त प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयले तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । माघ २५ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा तीन दलका तीनै जना उम्मेदवार कायम रहेका छन् ।

सत्ता गठबन्धनबाट नेकपा (एमाले) र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी परेको छ । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गरेको छ । निर्वाचनको लागि माघ ११ गते उम्मेदवारी दर्ता भएको थियो ।

एपनिर्वाचनमा सत्ता गठबन्धनबाटै दुई जना उम्मेदवार भएपछि सत्ता गठबन्धन फुटेको पुष्टि भएको हो । एमालेबाट रोल्पाका कुमार दसौदी, नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी अन्तिम नामावलीमा प्रकाशित भएको छ ।

नेकपा (एमाले)बाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा उपनिर्वाचनअन्तर्गत माघ २५ गते मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्