कैलालीमा आमाले भत्ताको पैसा नदिएपछि बन्चरो हानेर हत्या



धनगढी । कैलालीमा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले आमालाई बन्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थारुले मंगलवार राति ७१ वर्षीया (आमा) लगनी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन् ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएपछि थरुनीलाई उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो । तर, लम्कीमा उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएकोमा उनको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको बताइएको छ ।

उता, इलाका प्रहरी कार्यालय लम्कीले हत्या आरोपित थारुलाई पक्राउ गरेको जनाएको छ । उनलाई मंगलवार बिहान उनलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ । हत्याको प्रारम्भिक अनुसन्धानबाट आमा (लगनी)ले वृद्धभत्ताको पैसा नदिएपछि आरोपित थारुले बन्चरोले ढाड र खुट्टामा प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्