प्रेमप्रसादको आत्मदाहबाट सिर्जित दबाब



सयौं मानिसले श्रद्धाञ्जलि व्यक्त गरे उनको निधनमा, शोकमा डुबेका परिवारजनप्रति पनि समवेदना प्रकट गरे एक सच्चा देशभक्त व्यवसायीका नाममा । अझ कतिले त उनलाई वास्तवमा जिउँदो शहीद रहेछौ तिमी भनेर सहानुभूति पनि प्रकट गरे । सरकार तथा मातहतका निकायहरुलाई, अझ उनलाई दुःख दिने, लेनदेनमा ठग्ने र माथि उठ्नै नसक्ने गरी आर्थिक कारोबार बिगारिदिनेहरुलाई पनि गर्नसम्म गाली गरे र घटनाको छानबिनको माग गरिरहेका छन् । विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताले त यो सब राज्यव्यवस्थाको कमजोरीका कारण नागरिकहरुले अकालमा मृत्युवरण गर्नुपरेको तथा समाज लाचार बनेको भन्नसमेत भ्याए । त्यसो त उनलाई पनि आलोचना गर्न पछि परेनन् मानिसहरु । चिरपरिचितदेखि र अपरिचितसम्म, सबैखालका मानिसहरु उनको मृत्युमा अधिकांश दोष उनकै मात्र देखिरहेका छन् । अर्थात् उनीहरु भन्दै छन्– ‘कहीँ आफैं मरेर पनि समस्या समाधान हुन्छ ? बाँचेर संघर्ष गर्न सक्नुपर्दथ्यो । एक दिन राज्यका सम्बन्धित निकायले बाध्य भएर उनका कुरा सुन्थ्यो र समस्याको समाधानमा केही न केही पहल हुन्थ्यो होला । हेर विचरा ! श्रीमती र छोरीहरुको बिचल्ली, त्यसरी बेवारिस छोडेर मर्नु नहुने हो, कस्तो काँतर ! सबै दोष अरुमाथि थोपरेर मात्र हुन्छ ? आफ्नो कमजोरी पो थियो कि ! त्यतातिर विचार गर्नुपर्दैनथ्यो ?’

सबै व्यापार व्यवसायमा असफल हुनुको पछाडि अधिकांश त आफ्नै कमजोरी, अझ भनौं व्यवस्थापन राम्रोसँग गर्न नसक्दाको परिणाम हो यस्ता घटना । यस्ता टीकाटिप्पणी त कति हो कति ! आखिर जसले जे भने पनि बाँचुन्ज्याल कसैबाट उनले सहारा पाएनन् र अन्ततः उनले दुःखद मृत्युवरण गरे, अनपेक्षित सास्ती खपेर । उनी अर्थात् इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको प्रयासलगत्तै मृत्युको घटनापछि यस्तै खालका प्रश्नहरु उब्जिएका छन् र यही घटनाबाट समाज तरंगित बनेको छ ।

‘सयौंपटक आत्महत्या गर्ने प्रयास गरें, सकिन । आफैंले चलाएको गाडी दुर्घटना गराउने प्रयास गरेँ, भएन । श्रीमती–छोराछोरीको माया र कर्तव्यले मर्न सकिन । फोन कल यति सामना गरेँ कि फोनोफोबिया (फोनदेखि डराउने रोग) नै भयो । कहिलेकाहीँ फोनको नेटवर्क नआउने ठाउँमा पुग्दा मन आनन्दित हुने, २–३ वर्षदेखि नै डिप्रेसनमा थिएँ, कसैले बुझेन । म डिप्रेसनमा छु भन्दा उल्टै गाली खाइयो, लड्दै–पड्दै बाँचियो ।’

‘जिन्दगीमा हन्डर खाँदा–खाँदा मन सम्हाल्न नसकेर, आर्थिक भार थाम्न नसकेर यही वर्षको तिहारअघि सुसाइड नोट लेखी भारतको गुहाटी ब्रह्मपुत्र नदीमा फाल हानेर मर्ने जमर्को गरेँ, सकिन । कसैले बचायो र भागेर अरुणाञ्चल प्रदेशको तेजु हुँदै चाइना छिर्ने कोशिश गरेँ, सकिन । एउटा हिउँ पर्ने डाँडोले छेक्यो, त्यसलाई पार लाउनै सकिन । चाइना छिरेर त्यतै केही दुःख गर्ने अनि अलिकति पैसा कमाएर केही वर्षमा घर फर्किने योजना पनि विफल भयो । त्यहाँबाट फर्केर घर आएँ र परिवार एवम् आफन्तको सहयोग–सल्लाहमा काठमाडौं आई बाहिर जाने प्रयास गरेँ ।’

‘श्रीमतीलाई घरमा जतिखेरै टर्चर छ । हुँदा–हुँदा श्रीमतीले पनि आत्महत्या गर्ने प्रयास गर्न थालिन्, मलाई त्यही आशयको मेसेज लेख्न थालिन्, उनी पनि डिप्रेस्ड भइसकिन् । श्रीमती र म को पहिला मर्ने भन्ने मौन प्रतिस्पर्धा चलिरहेकै अवस्थामा मैले नै यो चोला बिसाउने निर्णय गरेँ ।’

आत्मदाह गर्नु दुई घण्टाअघि इलामका प्रेमप्रसाद आचार्य सन्तोषले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको सुसाइड नोटका केही अंश हुन् यी पंक्तिहरु । यही माघ १० गते मंगलबार राजधानीको बानेश्वरस्थित संघीय संसद् भवनअगाडि सडकको मध्यभागमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’को कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा भोलिपल्ट बुधबार बिहान मृत्यु भयो । यस घटनाबारे जानकारी प्राप्त गर्ने सबैलाई स्तब्ध बनाएको छ । कुनै पनि उद्यम व्यवसायमा लगानी गरेपछि जोसुकै लगानीकर्ताले त्यसबाट प्रतिफलको अपेक्षा गर्नु अस्वाभाविक लाग्दैन, तर नेपालको लगानी वातावरण कागजी रुपमा मात्र स्वच्छ भएका कारण धेरै नेपाली युवाहरुले आचार्यकै नियती भोगेका समाचारहरु बेलाबेलामा प्रकाशमा आउने गरेका छन् ।

प्रेमप्रसाद आचार्यले आफ्नो व्यावसायिक सफलता प्राप्त गर्न नसकेको वातावरण यथावस्थामा नै रहने हो भने भोलिका दिनहरुमा पनि यस्तै असफलताको सिकार बनेका अरु प्रेमप्रसादहरुले जीवन नफाल्लान् भन्ने छैन । आत्मदाह गर्नुअघि सामाजिक सञ्जालबाट उनले सार्वजनिक गरेका विविध समस्यालाई हेर्दा कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न नसकेर हतोत्साहित बनेपछि आत्महत्याको बाटो रोजेको बताउनुले समस्या जटिल नै बनेको रहेछ भनेर अनुमान लगाउन गाह्रो पर्दैन ।

जहाँ जसले जसरी लिए पनि पे्रमप्रसादको मृत्युपछि सरकारका बहालवाला तथा पूर्वपदाधिकारीहरुले यस घटनाबाट आफू स्तब्ध भएको, उनले उठाएका विषयहरुलाई राज्यले तत्काल छानबिन गर्नुपर्ने तथा उचित सम्बोधन गर्नुपर्ने माग पनि गरिरहेका छन् । उद्योग, कृषि, व्यापार, वैदेशिक रोजगार, शिक्षा, यातायातलगायत सबै क्षेत्रको सुधारका लागि अनुरोध गर्दै अलबिदा गरेका प्रेमप्रसादले नेपाललाई बस्न योग्य बनाउन तथा युवाहरुलाई स्वदेशमै अवसर प्रदान गर्न अनुरोध गरेका छन् । तत्कालीन गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले आचार्यले उठाएका विषयको छानबिन गर्ने आश्वासन मृतकका परिवारजनसमक्ष दिइसकेकोले निजलाई दुःख दिनेहरुमाथि केही न केही कारबाही त हुनुपर्ने अपेक्षा सर्वत्र छ, तर छानबिन प्रक्रिया कसरी अघि बढ्ने हो भन्ने प्रश्न पनि पेचिलो बन्दै गएको छ । अहिले छानबिनको आश्वासन दिने उपप्रधान तथा गृहमन्त्री लामिछाने पदमुक्त भइसकेकाले अरुको नेतृत्वमा हुने छानबिन कतिको विश्वसनीय हुने हो भन्ने आशंका गर्नेहरुको पनि कमी छैन । यसै बीच चौतर्फी दबाबपछि मन्त्रिपरिषद्को आकस्मिक बैठकले आचार्यले मृत्युअघि सामाजिक सञ्जालमा उल्लेख गरेका विषयमाथि छानबिन गर्न, प्रतिवेदन तयार पार्न र सरकारले गर्नुपर्ने कामबारे सिफारिस गर्नका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी गराउनुभएको थियो । साथै विस्तृत छानबिनका लागि गृह मन्त्रालयलाई गत बिहीबार गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोकत्वमा अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक–एकजना उपसचिव, नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका एक उप–अनुसन्धान निर्देशक सदस्य रहने गरी ६ सदस्यीय छानबिन समिति गठन गरिसकेकोले सामाजिक सञ्जालमा उल्लेख भएका व्यक्तिहरुमाथि छानबिन हुने र दोषीमाथि कारबाही हुने आम अपेक्षा छ ।

आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिहरुसमेतका १२ कसुरदारविरुद्ध किटानी जाहेरी दिएको प्रकाशमा आएको छ । निजले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिनुभएको हो । सो जाहेरीमा आचार्यले सामाजिक सञ्जाल फेसबुक स्टाटसमा उल्लेख गरेका कलेजहरु, व्यापारिक कम्पनीहरु, उद्योगीहरु र आर्थिक कारोबार गरिएका तर आपूmले भुक्तानी पाउन बाँकी व्यक्तिहरुको नाम किटानी गरी निजहरुमाथि छानबिन गर्न, भुक्तानी पाउन र दोषीमाथि कारबाही गर्नका लागि अनुरोध गर्दै न्यायको खोजी गरिएको छ । यसै बीच सामाजिक अभियन्ता एवम् अधिवक्ता स्वागत नेपालले पनि आत्मदाह गर्नुअघि आचार्यले नाम लिएका व्यक्ति र संस्थाहरुविरुद्ध आत्महत्या दुरुत्साहन जाहेरी दिनुभएको समाचारले घटनाबारे छानबिन गर्न ठोस सहयोग मिल्ने वातावरण बनेको छ । यस घटनाले आम समुदायलाई निश्चय नै दुःखी तुल्याएको छ, अब आइन्दा यस्ता घटना नहोऊन् भन्ने ध्येयले दुरुत्साहनलाई न्यूनीकरण गर्ने तथा दोषीमाथि मुलुकी ऐन अपराध संहिता २०७४ अनुसार सजायको भागीदार बनाउनका लागि सम्बद्ध सबै सरोकारवाला पक्षहरुले आ–आफ्नो तर्फबाट सहयोग तथा समर्थन जुटाउनु आवश्यक छ ।

आचार्यले आफ्नो उद्यम व्यवसायसँग सम्बद्ध कारोबार र दुःख दिने व्यक्तिहरुको नाम, उनीहरुको कर्तुत र कारबाहीको माग मात्रै गरेका छैनन्, एक परिपक्व, अनुभवी र व्यावसायिक उद्यमीले अघि सारेजस्तै गरी सरकारलाई विभिन्न २५ बुँदे सुझाव पेस गरेर वास्तवमै नेपाली माटो, राष्ट्रियता र उद्यमशीलताको रक्षा तथा बढावा हुने गरी काम गर्न पनि अनुरोध गरेका छन् । वास्तवमा ती सुझावहरुलाई एक–एक गरी नीति, योजना तथा कार्यक्रम बनाएर अक्षरशः कार्यान्वयन गर्ने हो भने हरेक क्षेत्रको उन्नति हुने प्रबल सम्भावनाहरु छन् । किनकि आचार्य आम नेपालीका एक प्रतिनिधि पात्र हुन् र उनले उठाएका सवालहरु नेपालीका साझा समस्या हुन् ।

आचार्यले दिएका केही सुझावहरु ः राष्ट्रिय उत्पादनमा शून्य अभिवृद्धि कर र आयातीत वस्तुमा २० प्रतिशत कर लगाउनुपर्ने, उधारो बजारको अन्त्य गर्नुपर्ने, ठूला औद्योगिक÷व्यापारिक घरानाबाट बजार कब्जा भएकाले सरकारले त्यसको नियमन गर्नुपर्ने, दर्ता नगरिएका अनलाइन पसलहरु बन्द गर्नुपर्ने, बिचौलियाको अन्त्य गर्नुपर्ने, कृषि र उद्योगलगायत व्यवसायलाई दिइँदै आएको अनुदानको दुरुपयोग तथा मनलागी वितरण नियन्त्रण गर्दै वास्तविक किसान र उद्यमीलाई वितरण गर्नुपर्ने, शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातमा भएको व्यापारीकरणलाई दुरुत्साहन गर्नुपर्ने, सार्वजनिक खरिद ऐनमा सुधार गर्नुपर्ने, विद्यालयमा कक्षा ६ देखि नै उद्यमशीलता पढाउनुपर्ने, बैंकको ऋण ७ प्रतिशतमा सीमित गर्नुपर्नेलगायतका सुझावहरु प्रस्तुत गरेका छन् । पीडित नेपालीहरुको एक प्रतिनिधि पात्रका रुपमा आचार्यले दिएका यी सुझावहरु आम नेपालीकै ठानेर गम्भीरतापूर्वक लिन सकियो भने आमरुपमै सुधार गर्न सकिन्छ । यसका लागि देशमा विद्यमान कमिसनको जालो, मौलाइरहेको आर्थिक अनियमितता, भ्रष्टाचार तथा दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्नु अनिवार्य आवश्यकताका रुपमा लिइनुपर्दछ ।

बद्री तिवारी

प्रतिक्रिया दिनुहोस्