अखिल (क्रान्तिकारी)द्वारा सांसद र त्रिवि टपर सम्मानित



काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पद्यकन्या बहुमुखी क्याम्पस समितिले सांसद र छात्रातर्फ त्रिभुवन विश्वविद्यालय (त्रिवि) टपरलाई सम्मान गरेको छ ।

आज (सोमबार) बिहान पद्यकन्या बहुमुखी क्याम्पस बागबजार काठमाडौंमा अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस समितिद्वारा आयोजिक सम्मान कार्यक्रममार्फत सांसद र त्रिवि टपरलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरु

नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले पद्यकन्या बहुमुखी क्याम्पसमा पढेका पूर्वविद्यार्थी एवं सांसदहरू सीता मिजार, अञ्जली श्रेष्ठ, लक्ष्मी घिमिरे, मीना पराजुली र प्रतिमा गौतमलाई सम्मान गरेको छ ।

सांसद सीता मिजार

यी पाँचै जना सांसद यसै बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी हुन् । उनीहरू २०७९ को प्रदेश तथा संघीय निर्वाचनमा निर्वाचित भएका थिए ।

सांसद लक्ष्मी घिमिरे

पद्यकन्या बहुमुखी क्याम्पसमा अध्ययन गरेकी छात्रातर्फ त्रिवि टपर विनिता निरौलालाई पनि अखिल (क्रान्तिकारी) क्याम्पस समितिले सम्मान गरेको छ । यस्तै नयाँ शैक्षिकसत्र २०७९/०८० मा भर्ना भई नियमित अध्ययनरत नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको क्याम्पस समिति अध्यक्ष तृष्णा आले मगरले बताइन् ।

यसै क्याम्पसमा पढेका पूर्वविद्यार्थी प्रदेश र संघको निर्वाचनबाट निर्वाचित भएका सांसदले विद्यार्थीहरूलाई राजनीतिमा प्रवेशका लागि द्वार खुल्लै रहेको बताए । उनीहरूले राजनीति पनि अवसर भएको उल्लेख गरे । देश र जनताको पक्षमा सधैँ सेवा गर्नेका लागि राजनीति अवसर भएको बताए । यो अवसर प्राप्तिका लागि राजनीतिमा प्रवेशका लागि सांसदले विद्यार्थीलाई हौसला प्रदान गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै त्रिवि टपर निरौलाले पुस्तक घोक्ने मात्रै नभएर प्रविधिको पनि ज्ञान हुन आवश्यक गरेको बताइन् । उनले ज्ञान आर्जनको प्रमुख हिस्सा पुस्तक भए पनि प्रविधिलाई सिक्न, जान्न र बुझ्न जरुरी रहेको बताइन् ।

त्रिवि टपर विनिता निरौला

कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस प्रमुख राजु मल्लले क्याम्पसमा भएका विद्यार्थीहरूको समस्या समाधनमा आफू सधैँ उद्धत रहने बताए । उनले कार्यक्रममा बोल्दै, ‘क्याम्पस अपाङ्गमैत्री शिक्षा, खानेपानी, लाइब्रेरी, इलेक्ट्रिक प्याडको व्यवस्था गरिएको बताए । यसका साथै तत्काल ईलाइब्रेरीको पनि व्यवस्था गरिने मल्ले जानकारी गराए ।’

कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस प्रमुख राजु मल्ल

कार्यक्रमको समापनमा बोल्दै अखिल (क्रान्तिकारी) पद्यकन्या बहुमुखी क्पाम्पस समितिका अध्यक्ष आले मगरले यसै क्याम्पसमा अध्ययन गरी सांसद, त्रिवि टपर बनेका विद्यार्थीहरूप्रति आफूले गर्व महसुस गरेको बताइन् । उनले सम्मान कार्यक्रममा बोल्दै, सांसद र त्रिवि टपरबाट प्रेरणा लिन समेत विद्यार्थीहरूलाई आग्रह गर्दै नवआगन्तुक विद्यार्थीलाई गहिरो मेहनत तथा अध्ययन गर्न समेत आग्रह गरिन् ।

कार्यक्रममा क्याम्पसमा अध्ययनरत छात्राहरूले सांस्कृतिक प्रस्तुती पनि प्रस्तुत गरेका थिए ।

छात्राहरूकाे सांस्कृतिक प्रस्तुती

प्रतिक्रिया दिनुहोस्