चलचित्र पत्रकारको दुईदिने कार्यशाला



चलचित्र पत्रकार संघ नेपालको आयोजनामा दुईदिने कार्यशाला सम्पन्न भएको छ । शुक्रबार र शनिबार फिल्म जर्नालिज्म इन मोडर्न इरा शीर्षकमा सञ्चालित कार्यशालामा काठमाडौं र काठमाडौंबाहिरका एक सय बढी पत्रकारले सहभागिता जनाएका थिए ।

राजधानीको चावहिल सरस्वतीनगरस्थित चलचित्र विकास बोर्डको हलमा सम्पन्न कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत भविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, विकास रौनियार, केपी ढुंगाना, विष्णु घिमिरे कल्पित, नरेश भट्टराई, शान्तिप्रिय, विदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षत्रीले पत्रकार आचारसहिता समाचार लेखन शैली, चलचित्र पत्रकारिताको इतिहास, विश्व सिनेमाको इतिहास, फोटोपत्रकारिता, साइबर क्राइम, भिडियो कथ्य शैली प्रस्तोता तथा चलचित्र पत्रकारिताको महत्त्व लगायतका शीर्षकमा कक्षा लिएका थिए ।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुसालले कार्यशालाको क्रममा यसको महत्त्वबारे चर्चा गरे । अहिले विधागत पत्रकारितामा चलचित्र पत्रकारितामा समस्या पनि उत्तिकै सुनिन्छन् । यस्ता कार्यशालाले स्वनियमन गर्न मद्दत गर्छु उनको भनाइ थियो । सञ्चारकर्मी, लेखक तथा निर्देशक प्रकाश सायमीले फिल्मको इतिहासबारे चर्चा गर्दै समीक्षा गर्न फिल्म बुझनु आवश्यक रहेको बताए । कथा भन्ने शैलीमा परिवर्तन आइरहेका छन् । त्यसैले, मेकर्स समीक्षक पनि चनाखो हुनु जरुरी छ, उनले भने ।

फोटोपत्रकार विकास रौनियारले चलचित्र पत्रकारितामा फोटोको प्रमुख भूमिका रहने जनाउँदै यसका आधारभूत मापदण्ड पालना गर्नुपर्ने बताए । छायांकार विष्णु कल्पितले भिडियोको भाषा र यसको बुझाइबारे प्रष्ट पारेका थिए । पत्रकार केपी ढुंगानाले पत्रकार हुँ भन्दैमा गल्ती गर्ने छुट कसैलाई नभएको र गल्ती गर्ने सबैले कारबाहीको भागिदार बन्नुपर्ने बताए । पत्रकार नरेश भट्टराईले प्रस्तोता पनि पत्रकार नै भएको जनाउँदै यसको स्कोपबारे चर्चा गरे । पत्रकारहरू शान्तिप्रिय, विदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले चलचित्र विधाको पत्रकारिताको महत्त्वबारे चर्चा गरेका थिए ।

शनिबार सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र पत्रकार चलचित्र क्षेत्रकै महत्त्वपूर्ण अंग रहेको चर्चा गर्दै नीतिगत रूपमा नै चलचित्र पत्रकारलाई राज्यले सघाउने बताए । राज्यले नीतिगत रूपमा नै चलचित्र पत्रकारलाई चलचित्रकर्मीको रूपमा समेटेको छ ।

यस क्षेत्रमा योगदान गर्ने पत्रकारलाई सम्मान पुरस्कार प्रदान गर्नुका साथै चलचित्रकर्मी परिचयपत्र समेत प्रदान गर्न सक्छु केसीले भने, यस प्रकारका कार्यशालाले पत्रकारको क्षमता वृद्धिमा प्रत्यक्ष भूमिका खेल्छ । आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमको अपेक्षा राखेको छ र सहकार्यको लागि बोर्ड सदैव तयार छ ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाले कार्यशालामा सिकेका विषयले चलचित्र पत्रकारिताको कर्म गर्न सहयोगी भूमिका खेल्ने विश्वास लिएको बताए । सिकाइको पूर्णविराम हुँदैन, यो निरन्तर चल्ने क्रम हो । हामीले छोटो अवधिमा पनि सकेसम्म धेरै विषयमा ज्ञान र सीप प्राप्ति होस् भन्ने उद्देश्य राखेका थियौं, जसमा हामी सफल रहेका छौं सिटौलाले भने संघको सैद्धान्तिक मूल्य मान्यतालाई आत्मसात् गर्दै र डिजिटल प्रविधिको भरपुर प्रयोगमा अबको पत्रकारिता अघि बढ्छ भन्ने विश्वास लिएका छौं ।

प्रतिक्रिया दिनुहोस्