बच्चाको मनबाट डर कसरी हटाउने ?



बच्चाको स्वभाव धेरै सरल र कोमल हुन्छ । उसले जे सुन्छ वा जे देख्छ, त्यो सत्य मान्न थाल्छ । यसले गर्दा ऊ निडर हुनसक्छ वा डरपोक पनि बन्न सक्छ । यदि सही समयमा बच्चाको मनबाट डर हटाउन सकिएन भने यो समस्याले उसलाई जीवनभर सताउन सक्छ । त्यसैले आउनुस्, हेरौँ बच्चाको मनबाट डर हटाउने केही उपाय:

१. डरको कारण बुझ्नुहोस्: आमाबाबुले बच्चा केबाट डराउँदै छ भनेर बुझ्नुपर्छ । प्रायः बच्चा अँध्यारो, भूतका आकृति, बाहिरिया व्यक्ति, कुकुर तथा अन्य जनावरहरूसँग डराउँछन् । किनकि बच्चाले यस्ता चिजले नराम्रो गरेको देखेका वा सुनेका हुन्छन् । बच्चाको डर पहिचान गरेपछि त्यसबारे सकारात्मक कुरा बताएर उसको डर हटाउने कोशिश गर्नुपर्छ ।

२. मजाक नगर्नुहोस्: तपाईंको बच्चालाई कुनै कुराबाट डर लाग्छ भने त्यसलाई मजाकको रुपमा नलिनुस् । उसलाई खिस्ट्याएर झनै डर नदेखाउनुस् । यसले बच्चाको मनमा निराशा पैदा गर्छ र उसको आत्मविश्वास पनि कम हुन्छ ।

३. दबाब नदिनुहोस्: बच्चा जेबाट डराउँछ, उसलाई बारम्बार त्यसैसँग मुकाबिला गर्न जबरजस्ती नगर्नुस् । उदाहरणका लागि यदि तपाईंको बच्चा
अँध्यारोसँग डराउँछ भने उसलाई बारम्बार अँध्यारोमा जान नभन्नुस् । उसको मनबाट डर हट्न समय लाग्ने हुँदा पर्याप्त समय दिनुस् । उनीहरुलाई बारम्बार दबाब दिँदा उनीहरुको मनमा झन् तनाव बढ्न सक्छ ।

४. डरलाग्दो चिज नदेखाउनुस्: बच्चालाई मोबाइल वा टिभीमा भूत वा डरलाग्दो कार्टुन वा पात्रहरू नदेखाउनुस् । बच्चाले जुन भिडियो हेर्छ उसले त्यसलाई वास्तविक रुपमा लिने गर्छ र त्यसैबाट डराउन थाल्छ । आफूलाई पनि त्यस्तो चिजले सताउँछ भन्ने बच्चाको मनमा छाप परी ऊ डराउन सक्छ ।

५. काल्पनिक र वास्तविकताबीचको भिन्नता बताउनुहोस्: विभिन्न परिवेशबाट दिमागमा उठेका काल्पनिक कुराहरुका कारण पनि बच्चा डराउँछन् । यस्तो अवस्थामा बच्चाको मनबाट बिस्तारै डर हटाउन ऊ खुशी भएको बेला र ऊसँग रमाइलो गरिरहेको बेला उसलाई त्यो काल्पनिक कुरा हो भनी बुझाउनुस् र सत्यताको बारेमा पनि जानकारी गराउनुस् । यति गर्दा पनि बच्चाको मनमा रहेको डर हट्न सकेन भने चिकित्सकको सल्लाह लिन नबिर्सिनुस् ।

स्रोत: www.onliymyhealth.com

प्रतिक्रिया दिनुहोस्