जाडोमा छालाको आयुर्वेदीय स्याहार



डा. रामदेव पण्डित आयुर्वेद चिकित्सक

छाला अत्यन्तै संवेदनशील अंग भए पनि हिजोआज आम मानिसले छालाको स्याहारमा ध्यान दिएको पाइन्न । जबसम्म छालामा केही रोग उत्पन्न हुँदैन, असामान्य प्रतिक्रियाहरु देखिन्न, आकार एवं बनोटमा असामान्य परिवर्तनहरु देखिन्न, तबसम्म मानिसहरु आमरुपमा छालाको स्वास्थ्यप्रति सजग भएको पाइन्न ।

छालाको स्याहार गरिएन भने छाला अस्वस्थ बन्न सक्छ । छालामा क्यान्सरजस्तो प्राणघातक रोग पनि उत्पन्न हुनसक्छ भन्ने विषयप्रति धेरै कम मानिस मात्र सचेत रहेको पाइन्छ । अतः हाम्रो समाजको यस आम मनोविज्ञानमा परिवर्तन जरुरी छ । स्वस्थ छालाको लागि यसको उचित स्याहार जरुरी हुन्छ ।

स्वस्थ एवं सफल जीवनका लागि छालाको स्वास्थ्य ध्यानमा राख्नुपर्छ । केवल सौन्दर्यको लागि मात्र अनुहार र हातको छालालाई स्याहार गर्नु समग्र छालाको स्वास्थ्यको लागि प्रर्याप्त हुन्न ।मानिसको एउटा परिचय भनेको छाला, छालाको रंग, अनुहारको छालाको सौन्दर्य पनि हो । तसर्थ छालाको स्याहार र स्वास्थ्यबारे आमरुपमा हरेकले जान्नु जरुरी छ । छाला सुन्दर भएर मात्र स्वस्थ हुन सक्दैन तर स्वस्थ छाला आफैंमा सुन्दर भने हुन्छ । अतः छालाको सौन्दर्यभन्दा पनि समग्र छालाको स्वास्थ्यमा हामी केन्द्रित हुनु बुद्धिमानी हुन्छ ।

 

जाडोमा कसरी नुहाउने ?

जाडोमा छालालाई चिल्लो एवं नरम राख्ने प्रयत्न गर्नुपर्छ । हरसम्भव सुख्खा हुन दिन हुँदैन । जाडोमा विशेष गरी नीम, कागती, अमला, गुलाफ आदियुक्त पानीले नुहाउने वा चन्दन वा नीम वा तुलसी वा एलोभेरा वा पपायायुक्त फेसवासले मुख धुने गर्नुपर्छ । नुहाउनेबित्तिकै सम्पूर्ण शरीरमा शुद्ध नरिवलको तेल दल्नुपर्छ ।

आयुर्वेद अनुसार छालाको लागि नरिवलको तेल सबैभन्दा उत्तम मोइश्चराइजर मानिन्छ ।  तातो पानीले छालालाई झनै सुख्खा बनाउने गर्दछ । अतः सकेसम्म चिसै पानीले नुहाउनुपर्छ । अत्यधिक चिसो भए पानीलाई हल्का मात्र तातो बनाएर (२५ देखि ३० डिग्री सेल्सियससम्म) नुहाउनु ठीक हुन्छ । यसो गर्दा व्यक्तिको स्वस्थ्य प्रतिरोधात्मक क्षमतालाई प्रत्यक्ष रुपमा हानि गर्दछ ।

जाडोमा पानीको उपभोग

जाडो मौसममा धेरैको कम पानी पिउने बानी हुन्छ । तर अनुहारको छाला स्वस्थ र चम्किलो राख्न पर्याप्त रुपमा पानी पिउनुपर्छ । साथै फलफूल तथा जुस पिउनु उत्तम मानिन्छ । जाडोमा पानी कम पिउनाले पनि छाला सुख्खा बनाउने गर्छ ।
अनुहारमा धेरै तातोपानीको प्रयोगले अनुहारको छालालाई सुख्खा र फुस्रो बनाउँछ । बेलुका सुत्ने बेलामा दुई चम्चा कागतीको रस र एक चम्चा मह मिसाएर अनुहारमा लगाउने गर्नाले अनुहारको छाला सुख्खा हुनबाट जोगाउँछ । यसले अनुहारमा चमक ल्याउँछ ।

अनुहारको स्याहार

चिसो मौसममा प्रायः हाम्रो अनुहारको छाला सुख्खा र फुस्रो हुन्छ, जसले चाउरीपन पनि देखिन सक्छ । साथै अनुहारमा चाया–पोतोसमेत देखिन सक्छ । अझ कसै–कसैमा त चिसोले गर्दा रातो–रातो धब्बाहरु देखिने र चिलाउनेसमेत हुन्छ । साबुनले मुख धुने बानी धेरैको हुन्छ ।

जाडो मौसममा साबुनले मुख धुने गर्नुहुँदैन । यसले छाला फुस्रो र झन् सुख्खा बनाउँछ ।

 

तातो पानीले मुख धुनाले अनुहारमा चाउरीपना बढाउँछ । सकेसम्म अनुहार चिसो पानीले नै धोएको राम्रो मानिन्छ । नसकेको अवस्थामा मात्र हल्का मात्र तातो पानी प्रयोग गर्नु ठीक हुन्छ । तर आयुर्वेदका अनुसार चिसो पानीमा अति तातो पानी मिसाएर प्रयोग गर्नु छालाको स्वास्थ्यको लागि राम्रो मानिन्न ।

अनुहारको छालाको सुख्खापन हटाउनको लागि गुलाबजल, ग्लिसिरिन प्रयोग गर्न सकिन्छ । धेरै सुख्खा छालाको लागि हर्बल सनब्लकसँगै लोसन प्रयोग गर्नु अनुहारको लागि धेरै लाभदायक हुन्छ । जसले अनुहारको छालालाई नरम राख्न सहयोग गर्दछ ।सौन्दर्य विज्ञहरुका अनुसार हरेक दिन तीन चम्चा दूध र एक जम्चा जैतुनको तेललाई मिसाएर अनुहारमा लगाउनाले चाउरीपना कम हुने हुन्छ । मेवाको गुदी नियमित रुपमा १० मिनेट जति अनुहारमा लगाएर पखाल्ने गर्दा पनि अनुहारमा देखिने चाउरीपना हराउनुका साथै अनुहार चम्किलो बन्छ ।

छालाको चमक कायम राख्न र दाग घटाउन लागि कोजिक एसिडको प्रयोग गर्ने सल्लाह दिइन्छ । यो एसिड हामीले च्याउबाट सहजै प्राप्त गर्न सक्छौँ ।एसी, हिटरको प्रयोग वा आगो ताप्नाले छाला झनै सुख्खा र फुस्रो बनाउने भएकोले यी कार्य सकेसम्म कम गर्नुपर्छ ।

ओठको स्याहार

शरीरमा हुने छालाहरुमध्ये ओठको छाला अत्यन्तै संवेदनशील हुन्छ, जुन अत्यन्तै कमलो हुन्छ । त्यसैले चिसोको कारण ओठ सुख्खा हुने, फुट्ने र कहिलेकाहीँ रगतसमेत आउने गर्दछ ।

ओठलाई स्वस्थ राख्न चिल्लोको मात्रा धेरै भएका लिपस्टिकहरु एवं चिपस्टिक पटक–पटक लगाउन सकिन्छ । कतिपयले ओठ सुख्खा भयो भन्दै जिब्रोले आफ्नो ओठमा थुक लगाउने बानी हुन्छ, त्यस्तो गर्नुहुँदैन । त्यसो गर्दा ओठ झनै सुख्खा हुन जान्छ ।

ओठ फुटेको अवस्थामा हरेक बेलुका सुत्नुअगाडि काँक्रोको जुस १५ मिनेट ओठमा लगाएर धुने गर्नाले ओठ नरम हुन्छ । त्यसबाहेक ओठलाई नरम बनाइराख्न जैतुनको तेल, एलोभेराको रस, ग्लिसिरिन पनि लगाउन सकिन्छ । यसले ओठलाई नरम राखिराख्न सहयोग गर्दछ ।

कपालको स्याहार

दैनिकरुपमा कपाल नुहाउनुअगाडि शुद्ध तोरीको तेलले १० मिनेट जति मसाज गरेर नुहाउँदा कपाल झर्ने र चाया पनि हट्ने हुन्छ ।

जाडो मौसममा स्याम्पु प्रयोग गर्दा सकेसम्म केमिकल धेरै नभएको हर्बल स्याम्पुको प्रयोग गर्नुपर्छ । कपाललाई चम्किलो र कोमल राख्न कन्डिसनरको प्रयोग गर्नु राम्रो मानिन्छ । जाडोका बेला सातामा दुईपटक मनतातो तेलले हेयर ओयल मसाज गर्नु अत्यन्तै राम्रो मानिन्छ ।

जैतुन, बदाम र तिलको तेल मिसाएर तताई, त्यसमा दुईवटा भिटामिन ई क्याप्सुल मिश्रण गरी मसाज गरेमा केशमा चमक आउँछ ।छालाको लागि आवश्यक सामग्रीहरु सोझै पसलमा गएर आफैँ जथाभावी किन्नुभन्दा छाला तथा सौन्दर्यविद्को सल्लाह लिएर मात्र खरिद एवं उपयोग गर्नु उपयुक्त हुन्छ ।

हातखुट्टाको स्याहार
हात, गोडा, ओठ र अनुहारको छाला जाडो मौसममा फुट्नबाट बचाउन मुलायम पार्ने हर्बल क्रिमको प्रयोग गर्न सकिन्छ । अदुवा, बेसार, पुदिनाको पात, मह तथा काँक्रोको प्याक घरमै बनाएर पनि लगाउनु राम्रो हुन्छ । त्यसै गरी एसी, हिटरको प्रयोग वा आगो ताप्नाले छाला झनै सुख्खा र फुस्रो बनाउने भएकोले यी कार्य सकेसम्म कम गर्नुपर्छ वा कपडा आदिले ढाकेर मात्र ताप्नुपर्छ ।

छालाको स्याहारका लागि जीवनशैली

अनुहारमा निखार ल्याउनका लागि खानपानदेखि उचित हेरचाहसम्म आवश्यक हुन्छ । स्वस्थ खानपान, अनुशासित दिनचर्या, सरसफाइले मात्र अनुहारमा चमक ल्याउन सम्भव हुन्छ । त्यति मात्र होइन, मानसिक स्वास्थ्य पनि ठीक हुनुपर्छ । मनमा पीडा, कुण्ठा, घृणाजस्ता विकार छन् भने अनुहारको चमक फिका देखिन्छ । स्वस्थ जीवनशैलीसँगै मानसिक सुख मिल्छ, फलतः त्यसबाट सौन्दर्य प्राप्त हुन्छ ।

दैनिक मर्निङ वाक गर्ने गर्नुपर्छ । धूमपान, मद्यपान त्यागले छाला एवं समग्र स्वास्थ्यलाई सबल बनाउँछ । तनावको असर छालाको स्वास्थ्य एवं सौन्दर्यतामा प्रत्यक्ष रुपमा तत्कालै देख्न पाइन्छ । अतः तनावमुक्त रहन दैनिक योग, ध्यान वा व्यायाम गर्नै पर्छ । कब्जियतबाट मुक्त रहेर मात्र स्वस्थ एवं सौन्दर्ययुक्त छाला प्राप्त गर्न सम्भव हुन्छ, त्यसैले यसमा पनि सजग रहनुपर्छ ।

सन्तुलित आहारसँगै एन्टिअक्सिडेन्ट, भिटामिनयुक्त आहार प्रोटिनलगायतका अन्य पोषण तत्वको सेवन गर्न पनि निकै जरुरी छ । जस्तै– डार्क चकलेट, गाजर, बदाम, ग्रिन टीले छालामा क्यान्सर हुनबाट समेत जोगाउँछ । बदाममा भिटामिन ‘ई’ भरपूर मात्रामा पाइन्छ, जसले एन्टिअक्सिडेन्ट तत्वसरह नै काम गर्छ । यसरी सजगताका साथ जाडोमा छालाको स्यहार गरेमा स्वस्थ हुनुका साथै सौन्दर्य प्राप्त हन्छ ।

प्रतिक्रिया दिनुहोस्