अलैँचीले बजार नपाउँदा सल्यानका किसान मारमा, सस्तोमा बिक्री गर्न बाध्य 



 सल्यान। 

अलैँचीले मूल्य नपाउँदा सल्यानका किसान मारमा परेका छन् । केही वर्ष पहिले देखि व्यवसायीक रुपमा अलैँची खेती गर्दै आइरहेका जिल्लाका किसानले मूल्य नपाउँदा मारमा परेका हुन । उत्पादित अलैँचीले बजार भाउ नपाएपछि अधिकांश किसान सस्तो मूल्यमै बिक्री गर्न बाध्य भएका छन् ्। गत वर्ष गाउँमा १ हजार १ सय रुपैयाँ प्रतिकिलोसम्म मूल्य पाएको अलैँची यस वर्ष ५ सय रूपैयाँमै बिक्री गर्न  किसान बाध्य भएको किसानहरुले गुनासो गरेका छन् ।

अलैँचीको बजार भाउ कुरेर बसे पनि घर व्यवहार चलाउनकै लागि सस्तोमा बिक्री गर्नु परेको कुमाख गाउँपालिका–६ गोलकपुरका किसान चन्द्र वलीले बताउनु भयो । २०७२ सालदेखि व्यावसायिक अलैँची खेती गर्दै आएका वलीले आफूले उत्पादन गरेको २ सय ६९ किलो अलैँची ५ सय ६० का दरले बिक्री गर्न बाध्य भएको बताउनु भयो । गत वर्ष २ सय ४० किलो बिक्री गरेर २ लाख ६५ हजार आम्दानी गर्नुभएका  उहाँले यस वर्ष बजार मूल्य नहुँदा १ लाख ५० हजार रूपैयाँमात्र आम्दानी भएको बताउनु भयो ।

गत वर्षको अनुपातमा यस वर्ष अलैँची उत्पादन पनि कम भएको अर्का किसान हरिराजसिंह राठोरले बताउनु भयो । यस वर्ष ७ सय रुपैयाँ किलोमा बिक्री गरेको उहाँको भनाई छ । उहाँले भन्नु भयो‚ ‘यस वर्ष उत्पादन र बजार मूल्य दुवै घटे, उत्पादन घटे पनि अहिले अलैँचीको मूल्य कौडीको भाउमा बिक्री गर्नुपर्ने अवस्था आएको छ, मेहनत खेरै गएको छ ।

पहाडी भूभागमा वर्षातमा बढी पानी पर्ने र हिउँदमा बढी तुसारो र खडेरी पर्ने गरेकाले पनि अलैँची खेती गर्ने किसानहरुको आम्दानी मौसमअनुसार घटबढ हुने गरेको अर्का किसान हरिबहादुर बुढाथोकीले बताउनु भयो । सुरु सुरुमा अलैँची उत्पादन गर्ने किसानहरुको घरघरमै बाहिरबाट खरिद गर्न आउने व्यवसायी अहिले अलैँचीको मूल्य घटेसँगै खरिद गर्न पनि आउन छाडेको उहाँको भनाई छ ।

जिल्लामा १५ हेक्टरमा अलैँची खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । आर्थिक वर्ष  ०७९/८० मा जिल्लाभर १५ हेक्टरमा १७ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका मुकुन्द शर्माले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्