सुदूरपश्चिममा कुष्ठरोग बढ्दो, ६ महिनामै ७२ बिरामी



टेकसिंह धामी।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कुष्ठरोगको आँकडा बढ्दो देखिन्छ। यो प्रदेशमा पछिल्लो ६ महिनाको अवधिमा मात्रै ७२ जना कुष्ठरोगबाट पीडित बिरामीहरु भेटिएका छन्। सुदूरपश्चिममा चालु आर्थिक वर्ष २०७९ /०८० को पहिलो ६ महिनामा ७२ जना कुष्ठरोगी भेटिएका हुन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालै धनगढीमा स्वास्थ्य निर्देशनालयले कुष्ठरोगको पछिल्लो अवस्थाबारे जानकारी दिन एक कार्यक्रमको आयोजना पनि गरेको थियो। सो कार्यक्रममा जनस्वास्थ्य अधिकृत मनोज ओझाले प्रदेशमा कुष्ठरोग बढ्दै गएको तथ्यांक सार्वजनिक गर्नुभएको थियो।

उहाँकाअनुसार सबैभन्दा बढी कैलाली, कञ्चनपुर र अछाममा कुष्ठरोगी फेला परेका छन्। अहिलेसम्म कैलालीमा एक सय ३१ कञ्चनपुरमा ३२ र अछाममा २५ जना कुष्ठरोगीको उपचार भइरहेको छ। डोटीमा ५, बाजुरामा ४, बझाङमा ३, दार्चुला र बैतडीमा २, २ र डडेल्धुरामा १ जना कुष्ठरोगी रहेको ओझाले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा २०५ जनामा कुष्ठरोग लागेको उहाँको भनाई छ।

त्यसमा १११ पुरुष, ९४ महिला, २ बालबालिका र १९ जनामा अपांङ्गताका लक्षण देखिएका छन्। यी मध्ये १६० जनामा बढी सर्ने र ४५ जनामा कम सर्ने कुष्ठरोग देखिएको छ। सरकारले निःशुल्क उपचार गर्ने भएकाले पनि कुष्ठरोगको आशंका भएका व्यक्तिहरु परीक्षण र उपचारका लागि स्वास्थ्य संस्थामा जाने गरेका कारण संख्या बढेको जस्तो देखिएको स्वास्थ्य अधिकारीहरु बताउँनुहुन्छ।

स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६–७७ मा प्रदेशभर १३७ जना कुष्ठ रोगी भेटिएकोमा आर्थिक वर्ष २०७७–७८ मा बढेर २०८ पुगेको छ भने आर्थिक वर्ष २०७८–७९ मा २०५ जना नयाँ बिरामी भेटिएका छन्। चालु आर्थिक वर्षको पुस मसान्तसम्म ७२ जनामा नयाँ संक्रमण देखा परेको छ। नेपालमा सन् २०१० मा कुष्ठरोग निवारणको घोषणा गरिएको थियो। सन् २०३० सम्म कुष्ठरोगलाई शून्यमा पु¥याउने सरकारी लक्ष्य छ।

 

प्रतिक्रिया दिनुहोस्