आँखा शिविर : ४ सय ८ जनाको उपचार



धादिङ । तिलगंगा आँखा अस्पताल काठमाडौं र जिल्ला सामुदायिक आँखा उपचार केन्द्र धादिङको संयुक्त आयोजना तथा स्थानीय तहहरूको समन्वयमा एकदिने आँखा शिविर सम्पन्न भएको छ । धादिङका विभिन्न स्थानमा एकदिने आँखा शिविर सञ्चालन सम्पन्न भएको आँखा उपचार केन्द्र धादिङले जनाएको छ ।

उक्त शिविरबाट झन्डै ४ सय ८ जनाले सेवा लिएका छन् । यहीँ महिनाको ११ गतेदेखि मोतियाविन्दु छनोट एकदिने आँखा शिविर सञ्चालन गरिएको हो ।

आँखा जाँच गरिएकामध्ये २८ जनामा मोतीविन्दुको समस्या देखिएको सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख रामसिंह तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार– ‘मुरली भन्ज्याङ स्वास्थ्य चौकीमा भएको शिविरमा ९३ जनाको आँखा जाँच गरिएकोमा ६ जनामा मोतीबिन्दुको समस्या देखिएको छ भने ८ जनालाई कालो चस्मा वितरण गरिएको छ । कटुन्जे स्वास्थ्य चौकीमा भएको शिविरमा १७ जनाले आँखा जाँच गराएका थिए । तीमध्ये १० जनामा मोतीविन्दुको समस्या देखिएको छ भने ६ जनालाई कालो चस्मा वितरण गरिएको छ ।

निमारचोक सामुदायिक स्वास्थ्य इकाईमा भएको शिविरमा ७३ जनाको आँखा जाँच गरिएकोमा ३ जनामा मोतियाविन्दु देखिएको छ । १० जनालाई भने कालो चस्मा वितरण गरिएको छ ।

ज्यामरुङ आयुर्वेद औषधालयमा भएको शिविरमा १६७ जनाको आँखा जाँच गर्दा ९ जनामा मोतियाविन्दु देखिएको र २५ जनालाई कालो चस्मा वितरण गरिएको छ । शिविरमा छनोट गरिएका मोतियाविन्दुका विरामीहरूलाई जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा माघ १६ र १७ गते न्यूनतम शुल्कमा अप्रेशन गरिने तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्