पाटनमा शास्त्रीय संगीत नखः



ललितपुर महानगरपालिका वडा नं. १६ कलाकार समितिले लोक, शास्त्रीय संगीतमा समर्पित कलाकारहरूको प्रस्तुति समेटेर श्रीपञ्चमी शास्त्रीय संगीत नखः (उत्सव) आयोजना गरेको छ ।

श्रीपञ्चमीको अवसरमा पाटन दरबार क्षेत्रमा भएको समारोह कलाकार विशाखा शाक्यले महामञ्जुश्री चर्या नृत्य प्रस्तुत गरी आरम्भ भएको थियो । कार्यक्रममा संगीतको माध्यमबाट परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ क्रियाशील प्लेइङ फर चेन्ज नेपालका कलाकारले सरस्वती वन्दना गाएका थिए भने नेपालभाषाको लोकप्रिय गीतहरू सिरसाया हेकुँ र व छु गल्ली समेटी विभिन्न वाद्यवादकले बाँसुरीको धुन प्रस्तुत गरेका थिए । सोही समूहका कलाकारको अर्को टोलीले नृत्य प्रस्तुत गरेका थियो ।

कार्यक्रममा वाद्य शिरोमणी गणेशलाल श्रेष्ठको नाममा स्थापित वाद्यशिरोमणि संगीत घरानाले राग वृन्दावणी सारंग प्रस्तुत गरेका थिए ।

लोक संगीतको अभिलेखीकरण, संरक्षण तथा प्रचारका कार्यमा सक्रिय रहँदै आएको प्रोजेक्ट बाजा नेपालले चारुकेशी प्रस्तुत गरेको थियो भने सोही समूहबाट विजय कायस्थको बबुचा (खलिमलि) वादनको साथमा सुरेशराज बज्राचार्यले सिर्जना एराउन्ड द जंगल प्रस्तुत गरेका थिए । सोही अवसरमा नेवास् पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति र नेवाः देय् दबू ललितपुर शाखाको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना पत्र प्रदान गरिएको थियो ।

समारोहमा कार्यक्रमका सभापति १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले स्वागत गर्दै सांस्कृतिक र सांगीतिक क्षेत्रमा विभिन्न गतिविधिका साथ क्रियाशील वडाले शास्त्रीय संगीतमा समर्पित कलाकारको प्रस्तुति समेटी गरको कार्यक्रम नयाँ आयाम भएको बताए । प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरपालिकाले अमूर्त सम्पदा क्षेत्रमा पनि उल्लेखनीय कदम चाल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्