प्रहरी श्रीमती संघको निःशुल्क आँखा शिविर सम्पन्न



काठमाडौं।

नेपाल प्रहरी श्रीमती संघले काठमाडौँको भृकुटीमण्डपमा संचालन गरेको नि:शुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा संचालित उक्त शिविरमा प्रहरी परिवार तथा सर्वसाधरण गरी ३ सय १४ जनाको सेवा लिएका छन् ।

शिविरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंहले निस्वार्थ रूपमा सेवा प्रदान गरी आँखा शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने समाजसेवी सुवास पाठक, तिलगंगा आँखा अस्पताल, सोही अस्पतालका विशेषज्ञ चिकित्सक तथा मेडिकल टिमका कर्मचारीहरू डा. स्वीकृती श्रेष्ठ, डा. सदिक्षा श्रेष्ठ, सरोज देवकोटा, बासुदेव अधिकारी, अमृत खनाल, गजेन्द्र कुमार महत्तो, स्नेहा थापा मगर, बिवश कार्की, सम्झना जोशी, जित बहादुर ठकुरी र लाल बहादुर तामाङलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

उहाँले नेपाल प्रहरी श्रीमती संघले प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधरणलाई लक्षित गर्दै विभिन्न किसिमका स्वास्थ्य शिविर संचालन गर्दै आएको बताउनुभयो । कुनै पनि व्यक्तिले समयमा आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्यले संचालन गरिएको यस शिविरबाट आँखा सम्बन्धी देखिने समस्याको पहिचान भई उपचारमा सहयोग पुग्ने अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो ।

शिविरमा तिलगंगा आँखा अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिक कर्मचारीहरूबाट प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधरण गरी कुल ३ सय १४ जनाको आँखा परीक्षण गर्नुका साथै आवश्यक औषधिहरू समेत वितरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्