विकास र समृद्धिको आधार तयार (अन्तर्वार्ता)



स्थानीय तहको सरकार जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सरकार हो । पालिकामा उपलब्ध सिमित स्थानीय स्रोत साधन प्रयोग गरी गाउँटोलको असीमित आवश्यकता पूरा गर्न गाह्रो छ । जसअन्तर्गत स्याङ्जाका ११ वटा पालिकामध्ये बिरुवा गाउंपालिका पनि एक हो । कूल ८ वटा वडा रहेको बिरुवा गाउंपालिकाको जनसंख्या राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार १३ हजार ९ सय रहेको छ । स्थानीय तहका आवश्यकता, सम्भावना, चुनौती र उपलब्धिहरूको सेरोफेरोमा रहेर हामीले स्याङ्जाको बिरुवा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, नेपाल समाचारपत्रका लागि स्याङ्जा संवाददाता अमृत अर्यालले लिएको अन्तर्वार्ताको सम्पादित अंश

१) बिरुवा गाउँपालिकामा भएका सम्भावना र अवसरहरू के–के छन् ?

बिरुवा गाउँपालिका स्याङ्जा जिल्लाको सदरमुकामबाट नजिकै रहेको स्थानीय तह हो । पहाडी भू–भाग भएकाले यो क्षेत्रमा सुन्तला, फलफूल, पशुपालन र कृषिको प्रशस्त सम्भावना छ । दुलेगौंडा, वालिङ जस्ता ठूला बजारहरू र प्रदेश राजधानी पोखराबाट पनि नजिकको दूरीमा भएकाले यहाँको उत्पादनलाई बजारीकरण गर्न कुनै समस्या छैन् । प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै विकासका गतिविधिहरूलाई शसक्त तरिकाले संचालन गर्न र “समृद्ध विरुवा र सुखी विरुवाबासी”को लक्ष्यलाई प्राप्त गर्न हामी लागिपरेका छौं । हामीले बिरुवामा विकास र संमृद्धिको आधार तयार गरेका छौँ ।

२) हजुरले बिरुवा गाउँपालिकाको प्रशासकीय प्रमुखको जिम्मेवारी समालेको पनि करिब एक वर्ष भईसकेको छ । यो एक वर्षको कार्यकालमा बिरुवाको समृद्धिका लागि के कस्ता कार्यहरू गर्नुभयो ?

साँच्चिकै भन्दा एक वर्षको अवधी एकदमै छोटो भएको महसुस भएको छ । यही समयमा स्थानीय, प्रदेश र संघको निर्वाचन भयो । जसको कारणले पनि सोचेजस्तो काम गर्न सकिएन । तर, पनि यो अवधिमा सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम ग¥यौं । नागरिकलाई सहज सेवा प्रवाह गर्न र उहाँहरूको आवश्यकतालाई सम्बोधन हुने किसिमले नीति तथा कार्यक्रम र बजेट तर्जुमा ग¥यौं । सेवा प्रवाहलाई सहज बनाउन वडातहमै योजना संकलन र सम्झौता गर्ने, वडा स्तरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, पालिकाको रणनीतिक महत्वका सडकहरूको वर्गीकरण गरी सोही अनुसार बजेट विनियोजन गर्ने, कृषि क्षेत्रको विविधिकरण गर्ने जस्ता महत्वपूर्ण कार्यक्रमहरू कार्यान्वयन गरिरहेका छौँ । दिगो विकासका लागि विकासमा अधिकतम जनसहभागिता जुटाउन गाउँपालिका साझेदारी नीतिअन्तर्गत अधिकतम जनसहभागिता जुट्ने कार्यक्रम तथा योजना कार्यान्वयनका लागि सहज तरिकाले बजेट विनियोजन तथा निकासा हुने व्यवस्था मिलाएका छौँ । बिरुवा गाउंपालिकाको हकमा मुख्य योजनाभन्दा पनि यहाँ सबैखाले योजना बनाएर शुरुवाती चरणबाटै काम गर्नुपर्ने भएको छ ।

३) सडकलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । तर पालिका प्रवेश गर्ने मुख्य सडकको अवस्था त हरिबिजोग नै छ, किन ?

यो बारम्बार उठिरहेको प्रश्न हो । हामीले समृद्ध र सुखी बिरुवाबासीको सपना देखाइरहँदा विगतमा के भयो भन्दा पनि अब हामीले के गर्दैछौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । पालिकालाई राष्ट्रिय राजमार्गसँग सहज तरीकाले जोड्न अत्यावश्यक भएकाले हामी सोही अनुसार लागि परेका छौँ । राङ्खोला विरुवा सडकको स्तरोन्नति गर्दै सहज आवागमन सुनिश्चित गर्न पालिकाबाट ५० लाख बजेट विनियोजन गरेका छौँ । सडकका लागि संघीय सरकारबाट २ करोड बजेट प्राप्त भएको छ । सडकको दिगो र व्यवस्थित विकासको लागि यो बजेट अझै अपुग हुने भएकाले प्रदेश सरकारसँग थप बजेट माग गर्न समन्वय गरिरहेका छौँ । सकेसम्म यो महिनाभित्र बहुवर्षीय रणनीतिक सडकको रूपमा यो सडक ठेक्का प्रक्रियामा जाँदैछ । अर्को वर्ष पालिका राष्ट्रिय राजमार्गसँग सहज रूपमा जोडिने विश्वास लिएका छौँ । हामीले सडकमा गर्नुपर्ने केही विशेष कामहरूको सूची पनि बनाएका छौँ ।

४) ऐन र नीति नियम तर्जुमालाई पनि प्राथमिकतामा राखेको बताउनुभयो । अहिलेसम्म पालिकामा के कति ऐन नियम निर्माण भएका छन् ?

संविधान र संघीय कानुनले स्थानीय तहलाई प्रदान गरेका अधिकार प्रयोग गरी पालिकाका क्रियाकलापलाई सहज रूपमा सञ्चालन गर्न र विधिको शासन कायम गर्न हामीले यो आर्थिक वर्षलाई कानुन निर्माणको आधार वर्षको रूपमा लिएर काम गरिरहेका छौँ । अघिल्लो स्थानीय सरकारको कार्यकालमा केही सिमित कानुनहरू बनेका छन् । नियमित सेवा प्रवाहलाई सहज बनाउन र विकास योजनालाई दीगो र व्यवस्थित बनाउन हामीले हालै सम्पन्न १२औँ गाउँसभाबाट कर्मचारी आचारसंहिता ऐन, बालबालिका सम्बन्धी ऐन, प्रज्ञा प्रतिष्ठान ऐन लागायतका एक दर्जनभन्दा बढी ऐनहरू निर्माण गरेका छौँ । जुन हाम्रो वेवसाइडमा पनि देख्न सकिन्छ ।

५) पालिकाका मुख्य प्राथमिकताहरू के–के हुन् ?

पहाडी भू–भाग भएकाले भौगोलिक बनावट अनुसारको विकास रणनीति लागू गरेका छौँ । वडा नं ७ र ८ राम्रो सुन्तला उत्पादन हुने भएकाले फलफूल उत्पादनलाई प्राथमिकतामा राखेका छौँ । यो वर्ष पालिकाभित्र करिब ४ करोडको सुन्तला उत्पादन भएको छ । पशुपालनअन्तर्गत बाख्रापालन र बंगुरपालनको प्रचुर सम्भावना भएकाले यसलाई पनि प्राथमिकतामा राखेका छौँ । जनजातिको बाहुल्य क्षेत्रमा होमस्टे र मनकामना आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखेका छौँ । कृषिलाई प्राथमिकतामा राखेर सशर्त अनुदानको कार्यक्रम गर्न गैरहेका छौँ । जसअन्तर्गत पालिकालाई दूध, तरकारी, माछापालन, पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौँ । हामी बोलेरभन्दा पनि काम गरेर देखाउनेमा विश्वास राख्छौँ ।

६) अहिले प्रायजसो स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच द्वन्द्व भएको पाइन्छ । बिरुवा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध कस्तो छ ?

बिरुवा गाउँपालिकामा अहिलेसम्म त्यस्तो द्वन्द्वको अवस्था अनुभव गरेका छैनौँ । विकास र समृद्धिका सपना पूरा गर्न पनि यस्ता द्वन्द्वहरू बाधक हुने भएकाले कर्मचारी र जनप्रतिनिधिबीच सौहार्दपूर्ण वातावरण छ । हरेक योजना, नीति निर्माण गर्दा हामीले समन्वयात्मक तरिकाले काम गरिरहेका छौँ । यति राम्रो मित्रता र सम्बन्ध सायद अरू पालिकामा पाउनु हुन्न । हाम्रोमा जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई घनिष्ठ बनाएका छौँ ।

७) जनशक्ति विकासको प्रमुख आधार मानिएको शैक्षिक क्षेत्रको विकासको लागि पालिकाको योजनाहरू के छन् ?

विशेषगरी गुणस्तरीय शिक्षा पालिकाको पहिलो प्राथमिकता हो । शिक्षामा खेलवाड गर्न पाइँदैन, सामुदायिक विद्यालयमा पनि निजी विद्यालय सरह शैक्षिक गुणस्तर सुधार गर्ने हाम्रो योजना छ । शिक्षा क्षेत्रमा मूलरूपमा दरबन्दीको पनि समस्या देखिएको छ । त्यसलाई हल गर्नका लागि हामी सबै विद्यालय र शिक्षकको विवरण संकलन गर्दैर्छौँ । आवश्यकताको आधारमा बढी भएको स्थानबाट दरबन्दी कटौती तथा कम भएको स्थानमा थप गर्ने, यसका साथै शिक्षकहरूलाई तालिम तथा विद्यार्थीलाई नैतिक शिक्षा दिएर विद्यालयमैत्री वातावरणको सिर्जना गर्ने हाम्रो योजना रहेको छ । वातावरण बनाइसकेपछि हामीले बिरुवाको शिक्षालाई प्राविधिक शिक्षातर्फ अगाडि बढाउने छौँ । अहिले पालिकाको दुई वटा विद्यालयमा प्राविधिक शिक्षाको कार्यक्रम सञ्चालनमा रहेको अवगत गराउन चाहन्छु ।

८) स्वास्थ्य क्षेत्रको सुधारका लागि पालिकाको योजना के छ ?

समग्ररूपमा गाउंपालिकाभित्र स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई विज्ञहरूको छलफल र परामर्श गरी स्वास्थ्य क्षेत्रको थप सुधार गर्न योजना छ । गाउँपालिका क्षेत्रभित्र रहेको सरकारी वा निजी स्वास्थ्य सस्थालाई पनि आवश्यकताअनुसार नियमन गरिनेछ । प्रत्येक स्वास्थ्य चौकीहरूमा ल्याबको व्यवस्था गरिदैछ । पालिकाको चिन्नेवासमा १० शैय्याको अस्पताल निर्माण हुदैछ ।

९) गाउँपालिकामा फोहरमैला व्यवस्थापनलाई कसरी समाधान गर्ने योजना छ ?

यस पालिकामा फोहरमैला त्यति धेरै समस्याको रूपमा त आएको छैन् । तथापि बजार क्षेत्रको हकमा फोहरमैला संकलन गरी व्यवस्थापन गर्ने योजनाअनुसार काम भैरहेको छ । महत्वपूर्ण कुरा फोहर व्यवस्थापनको लागि यहाँका नागरिकले पनि उत्तिकै साथ दिन जरुरी छ । यसको पूर्वाधार विकासका लागि गाउँपालिकाले सहयोग गर्न तयार छ । अब फोहर व्यवस्थापन गर्न नजानेका अथवा अज्ञानता भएका नागरिकको दिमाग बढार्न जरुरी छ । सोचाइबाट फोहर बढार्न सकिएको खण्डमा धेरै हदसम्म फोहर आफैँ व्यवस्थापन हुने कुरा हो । विदेशी मुलुकहरुमा हेर्ने हो भने फोहर व्यवस्थापनमा राज्यले धेरै लगानी गरेको पाइँदैन । व्यवस्थापनमा बढी जोड दिएको पाइन्छ ।

१०) अन्त्यमा, हाम्रो मिडियामार्फत पालिकाबासीलाई के भन्न चाहनुहुन्छ ?

बिरुवा बनाउने जिम्मा कर्मचारी, जनप्रतिनिधि, नागरिक सबैको हो । पालिकाभित्र समृद्धिका आधारहरू र सम्भावना प्रशस्त छन् । कृषी, पशुपालन, सुन्तला, तरकारी उत्पादन लगायतका व्यवसायिक सम्भावना भएका क्षेत्रमा लगानी गर्न र नागरिकका दुःख पीर मर्कालाई सम्बोधन गर्न पालिका सदैव तयार छ ।

प्रतिक्रिया दिनुहोस्