सर्ट फिल्म कम्पिटिसन हुने



म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा आयोजना गर्न लागिएको आयोजकले जानकारी गराए ।

बिहीबारदेखि नै सहभागिताका खुल्ला गरिएको प्रतिस्पर्धामा फिल्म निर्माणमा रुचि भएका जो कोहीले पनि भाग लिन सक्ने आयोजकको भनाइ छ । क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका फिल्मकर्मीका सर्ट फिल्म कम्पिटिसन गतिलो प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे । फिचर फिल्म निर्माण निकै महँगो हुने गर्छ, तर सर्ट फिल्म थोरै पैसामा पनि बनाउन सकिन्छ । हामीले पैसा छैन तर कथा छ भने पनि निर्माणमा हातेमालो गर्न तयार छौं भन्ने सन्देश दिन यो प्रतिस्पर्धा आयोजना गरेका हौं, उनले भने ।

म्युजिक नेपालका राजीव लोहनीले दायरा फराकिलो पार्दै फिल्मकर्मीसँग काम गर्न लागेको बताए । कम्पिटिसिनको निर्णायकमा अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारी छन् । बरालले सर्ट फिल्म लम्बाइको हिसाबले सानो भए पनि ठूलो मेहनत लाग्ने बताए । सर्ट फिल्म भनेको बेर्ना हो । यही बेर्ना ठूलो भएर रुख बन्छ र फल दिन्छ, उनले भने । अर्का निर्णायक सुजित बिडारीले यस्ता प्रतियोगिताको महत्व कति हुन्छ भन्ने कुराको आफू भुक्तभोगी भएको बताए । अभिनेत्री सुरक्षा पन्तले यस्ता कार्यक्रम कलेज र विद्यार्थीलाई लाभदायक हुने बताइन् । फिल्म कलेजले फिल्म पढाएर मात्र दायित्व पुरा हुँदैन । यस्ता कार्यक्रमले पढेको कुरालाई जाँच्ने अवसर पनि दिन्छ र सहकार्यको महत्व पनि बुझाउँछ, उनले भनिन् ।

प्रतिस्पर्धामा सहभागी हुन चाहनेले फागुन ३० सम्म कथासार र भने चैत १७ भित्र स्क्रिप्ट बुझाउनुपर्नेछ । प्राप्त स्क्रिप्टका लेखकलाई निर्णायकले ३ दिन प्रशिक्षण दिनेछन् । छानिएका १० फिल्मले निर्माणका लागि ७५ हजार नगद प्राप्त गर्नेछन् । फिल्ममध्ये पहिलो हुनेले २ लाख नगद प्राप्त गर्नेछ भने बाँकी अन्यले विधागत रूपमा नगद पुरस्कार पाउनेछन् । आयोजकका अनुसार स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले ५० हजार प्राप्त गर्नेछ भने अभिनय, छायांकन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्