नाजिर ट्रान्सवुमन लुक्समा



महिला निर्देशक समुद्र भट्टद्वारा निर्देशित फिल्म गुलावी ः एक रंगको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

वसन्त पञ्चमीको अवसर पारेर बिहीबार बिहान सार्वजनिक फस्ट लुक पोस्टरमा अभिनेता नाजिर हुसेनको नौलो लुक्स प्रस्तुत गरिएको छ । हुसेनको मुख्य भूमिका रहेको फिल्मको फस्ट लुक्समा उनलाई ट्रान्सवुमनको भूमिकामा प्रस्तुत गरिएको छ । पोस्टरमा नाजिरलाई गाजल टिकी र नथिया लुक्समा गम्भीर मुद्रामा देखाइएको छ ।

नेपालमा पहिलोपटक पूर्णरूपमा ट्रान्स स्टोरीमा निर्मित यस सिनेमाका लागि नाजिरलाई १६ केजी तौल घटाउन लगाइएको निर्देशक भट्टले जानकारी गराएकी छन् । नाजिरले यो भूमिकाका लागि एक वर्षसम्म ट्रान्सवुमनसँग संगत गरेको तथा चरित्रमा डुब्नका लागि क्लबदेखि सपिङ मलसम्म उनीहरूलाई पछ्याएको जनाएका छन् ।

त्यस्तै, निर्देशक भट्टले फिल्मको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्था नीलहीरा समाज र नीति नेपालसँग पनि परामर्श गरेको जनाएकी छन् ।

फिल्मममा नाजिर गुलावी पात्रको मुख्य भूमिकामा देखिनेछन् भने अभिनेत्री सञ्चिता लुइँटेलका साथमा सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायतका कलाकारले यसमा अभिनय गरेका छन् । द स्काई ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्ममा आकाश बुढाथोकी, नाजिर हुसेन र रामकुमार श्रेष्ठको कथा र संवाद लेखु सहयात्री र सान भुसालको संगीत तथा आलोक शुक्लाको छायांकन रहेको छ ।

निर्देशक भट्टले गुलावीअघि आधा पेज र रिङरोड नामक फिल्म निर्देशन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्