भारतीय दूताबासले मनायो भारतको ७४ औं गणतन्त्र दिवस



काठमाडौं।

काठमाडौंस्थित भारतीय दूताबासले विभिन्न कार्यक्रमको आयोजना गरी बिहीबार भारतको ७४ औं गणतन्त्र दिवस मनाएको छ । दूताबास परिसरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराएर शुरु गर्नुभएको कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन पढेर सुनाइएको थियो ।

सम्बोधनमा भारतका राष्ट्रपति मुर्मूले विश्वव्यापी आर्थिक अनिश्चितताका बाबजुद गान्धीजीको ‘सर्वोदय’ वा ‘सबैको उत्थान’को आदर्शलाई हासिल गर्न भारतले आर्थिक क्षेत्रमा गरेको उत्साहजनक प्रगतिको चर्चा गर्नुभएको छ । साथै उहाँले जी–२० मा भारतले पाएको अध्यक्षता सिंगो विश्वको भविष्यलाई अझ राम्रो बनाउन लोकतन्त्र र बहुपक्षियताको प्रवद्र्धन गर्ने अवसर भएको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीको सम्मानमा उनीहरूको परीवारलाई ४ करोड ६० लाख रुपियाँ नगद र कम्बल वितरण गरी सम्मान गर्नुभएको थियो । कार्यक्रममा विभिन्न शैक्षिक संस्थालगायत २३ संस्थालाई १६ लाख रुपियाँको बराबरको पुस्तक उपहारस्वरुप वितरण गरेको थियो ।

कार्यक्रममा नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकका लागि भारत सरकारको कल्याणकारी पहल समावेश गरिएको भूपू–२०२२ पत्रिकाको पनि लोकार्पण गरिएको थियो । उक्त अवसरमा दुतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीले देशभक्ति गीतका साथै अन्य सांस्कृति प्रस्तुति दिएका थिए ।

दूताबासले बिहीबार अपरान्ह उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा दूताबास परिसरमा ७४ औं गणतन्त्र दिवसको अवसरमा स्वागत समारोहको आयोजना गरेको थियो । उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्रीपरिषद्का सदस्य, उपसभामुख, सांसद, संवैधानिक अंगका प्रमुख, काठमाडौंस्थित विदेशी कुटनीतिक नियोगका प्रमुखहरू, विभिन्न राजनीतिक दलका नेता, उद्यमी, व्यवसायी, कलाकार, संचारकर्मीलगायतका उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्