नेत्रज्योति संघको निःशुल्क आँखा शिविरमा ३ सय ५८ जनाले पाए नयाँ दृष्टि



काठमाडौँ। 

नेपाल नेत्र ज्योति संघको आयोजनामा कपिलवस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३ सय ५८ जनालाई उज्यालो प्रदान गरिएको छ ।
नेत्र ज्योति संघ, अन्तर्गत सञ्चालित छन्द (कालेबाबु)  नारायणी आँखा अस्पताल बहादुरगञ्जलले  आँखा शिविर मार्फत  ३ सय ५८ जनाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरेको हो । कपिलवस्तु जिल्लाका बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकासँगको सहकार्यमा छुट्टा छुट्टै  शिविर सञ्चालन गरिएको  संघले जनाएको छ  ।

नेपाल नेत्र ज्योति संघले पैसाको अभावका कारण कोही पनि अन्धोपनमा जीवन बिताउन  नपरोस् भन्ने हेतुले पछिल्लो समय हुनेसँग लिने र नहुँनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । जस अन्तर्गत नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरजंग अन्तरगत सञ्चालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा कपिबस्तुका दुईवटा स्थानीय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको जनाएको छ ।

संघले दिएको जानकारी अनुसार माघ ६ र ७ गते शिवराज नगरपालिकामा सञ्चालन गरिएको शिविरमा १ सय ५६ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने १ हजार ७४ जनाको आँखाको परीक्षण गरिएको थियो ।

त्यस्तै बुद्ध भूमि नगरपालिमा माघ ९ र १० गते सञ्चालित शिविरमा २ सय २ जनाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने १ हजार २ सय ९४ जनाको आँखा परीक्षण गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, घर आगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

ती शिविरहरूमा अस्पतालकी चिफ मेडिकल डाइरेक्टर, आँखा रोग विशेषज्ञ डा. सुलक्ष्मी कटुवाल नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो ।

उक्त २ वटै शिविरमा गरेर ७ सय २२ जनालाई निःशुल्क चस्मा समेत वितरण गरिएको छ । हेल्पिङ ह्यान्ड इन्टरनेशनलको आर्थिक सहयोगमा दृष्टि दोष न्युनिकरणका लागि उक्त चस्मा वितरण गरिएको हो ।

४० वर्ष नाघेकालाई  कामकाज गर्दा दृष्टि सम्बन्धी आउने समस्यालाई मध्यनजर गर्दै न्यूनिकरणका लागी निःशूल्क चस्मा वितरण गरिएको संघले जनाएको छ । नेपाल नेत्र ज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १ सय ५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्