खुल्ला आकाशमुनि सम्पन्न म्युजिक अवार्डमा हमाललाई एक लाखसहित महानायक सम्मान



भक्तपुर । भक्तपुरमा खुल्ला आकाशमुनि पोखरीका बीचमा म्युजिक अवार्ड समारोह सम्पन्न भएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगपालिकाको वडा नं. ४ स्थित निगुपुख (दुई पोखरी) मा चौथो एपिक म्युजिक अवार्ड २०७९ सम्पन्न भएको हो ।

समारोहमा लोकप्रिय अभिनेता राजेश हमाललाई एक लाख एक सय ११ रुपियाँ नगदसहित महानायक सम्मानबाट सम्मानित गरियो । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिनेता हमाललाई महानायक सम्मानबाट सम्मानित गरेका हुन् । समारोहमा अभिनेता हमाल र उनकी पत्नी मधु भट्टराई नेवारी पहिरनमा सरिक भएका थिए । सो अवसरमा पत्रकार प्रकाश सुवेदीलाई चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो भने गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसीलगायतलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा प्रमुख अतिथी ओलीका साथमा नेकपा एमालेका नेता तथा सांसद कृष्णगोपाल श्रेष्ठ, ओलीको धर्मपत्नी राधिका शाक्य, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, मध्यपुर थिमी नगरपालिकाका पूर्वमेयर मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाको उपमेयर सरिता भट्टराई, नेपाल अभिनेत्रीहरू वसुन्धरा भुषाल र गौरी मल्ल, हमाल पत्नी मधु भट्टराई, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्कालगायत सहभागी थिए ।

अवार्डमा यसकुमार सर्वोत्कृष्ट आधुनिक गायक, प्रविश अधिकारी आधुनिक गायिका, डा. सुदीप भट्टराई आधुनिक गीतकार अर्जुन पोखरेल आधुनिक गीतकार, कलाकार तथा मोडल सागर लम्साल आधुनिक पपुलर मोडलको अवार्ड विजेता भए ।

त्यसैगरी, कल्पना श्रेष्ठ नेपाल गायिका एलिजीवा पुर्जा पुन मौलिक थाली नाच, कुलेन्द्र विश्वकर्मा लोकदोहोरी गायक, पूर्णकला बिसी लोकदोहोरी गायिका, दामोदर भण्डारी लोकदोहोरी नवगायक, रीया खड्का लोकदोहारी गायिका, कमल सरगम लोकदोहोरी गीतकार, हाँस्य कलाकार मरिचमान श्रेष्ठ लोकगीत र जेबी ओली वर्षको लोकदोहोरी गायकको अवार्ड विजेता भए ।

माघको चिसो मौसमका बीच पोखरीको बीचमा फेसन या शैलीले निर्माण गरिएको मञ्च, वरिपरी दर्शक र सहभागी अनि चमकदार प्रकाश व्यवस्थापनले कार्यक्रमलाई सुन्दर रूप दिलाएको थियो भने नौलोपन समेत देखिएको थियो । कार्यक्रममा गायक दीपक बज्राचार्यले एउटै तालमा सयभन्दा बढी धिमेको संयोजनमा बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विश्वमा सभ्यता, कला, साहित्य र संस्कृतिको सुरुवात नेपालबाटै भएको चर्चा गर्दै पुरानो रचना वेद र विभिन्न ग्रन्थ नेपालकै भएको बताए । अध्यक्ष ओलीले अभिनेता हमालको पनि प्रशंसा गरे । कार्यक्रममा एम बराल, धीरज राईलगायत स्थानीय गायक(गायिकाले गीत संगीत प्रस्तुत गरेका थिए भने अवार्डको निर्णायकमध्येकी एक गायिका जुनु रिजाल काफ्लेले पनि गीत प्रस्तुत गरेकी थिइ् ।

समारोह सूर्यविनायक नगरपालिका र मथिनपा वडा नं.४ को सहकार्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्