रक्षामन्त्री र प्रधानसेनापतिद्वारा काठमाण्डौं-तराई-मधेस द्रुतमार्गको संयुक्त निरीक्षण भ्रमण



काठमाडौं । रक्षामन्त्री श्री हरिप्रसाद उप्रेती र प्रधान सेनापति प्रभुराम शर्माले निर्माणाधिन काठमाडौं–तराई–मधेस द्रुतमार्गको संयुक्त भ्रमण गरेका छन् । आज (बुधबार) रक्षामन्त्री र प्रधान सेनापतिले उक्त मार्गको आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण भ्रमण गरेका हुन् ।

भ्रमणको दौरान उनीहरूले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिएका छन् । यसका साथै महादेवटार सुरुङ्ग मार्गको इनलेट, लेनडाँडा सुरुङ्ग मार्गको आउटलेट तथा उक्त आयोजनाअन्तर्गत निर्माणाधिन सडक तथा पुलको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा रक्षामन्त्री उप्रेतीले जटिल भू–बनोटमा समेत आधुनिक उपकरणहरुको प्रयोग गरी भईरहेका कार्यको प्रशंसा गरे । उनले उक्त कार्यलाई थप द्रुतगतिमा सञ्चालन गर्न रक्षा मन्त्रालयको तर्फबाट आवश्यक समन्वय एवं सहजीकरण गरिने उल्लेख गरे ।

यसका साथै उच्च हौसला एवं मनोबलका साथ प्रविधिको अधिकतम प्रयोग गर्दै आयोजना छिटो सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । भ्रमणदलमा रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका सह–सचिव बाबुराम अधिकारी लगायत द्रुतमार्ग आयोजनाका पदाधिकारीको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्