प्रेम र करुणाको सन्देश विश्वभर पुर्याउन आध्यात्मिक गुरु मोरारी बापुको रामकथा प्रवचन हुने



बुटवल । साँचो प्रेम र करुणाको सन्देश विश्वभर शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट फैलाउने भन्दै भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुबाट श्री रामकथा प्रवचन हुने भएको छ ।

लुम्बिनीको प्रचारप्रसार, लुम्बिनीको विकास र लुम्बिनीमा पर्यटक भित्र्याउन सहजहोस् भन्दै रामकथा आयोजना गरिएको बताइएको छ ।
यही माघ २१ गतेदेखि २९ गतेसम्म लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने प्रवचनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

नौ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजार बढी श्रद्धालुको सहभागिता रहने रामकथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले बताउनुभयो ।

कार्यक्रमबारे जानकारी गराउन बुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै अग्रवालले प्रवचन कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आध्यात्मिक गुरु मोरारीको लुम्बिनीमा ९१२ औँ रामकथा आयोजना हुन लागेको हो । साँचो प्रेम र करुणाको सन्देश लिएर विश्वयात्रामा रहेका उहाँले सबै धर्मका प्रमुख तीर्थस्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आउनु भएको छ । अभियान अन्तरगत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ ।

नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । यसअघि सन २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसैगरी काठमाण्डौं र तिलिचो तालमा समेत रामकथा वाचन भइसकेको छ । लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्वशान्तिको कामना गर्दै ९१२ वटा विरुवा लगाउने कार्यक्रम भएको संयोजक अग्रवालले बताउनुभयो ।

यसअघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कार्यक्रमको चर्तित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि विकास केडियाले बताउनुभयो ।

कार्यक्रममा नेपाल भरीका नागरिकलाई र सीमावर्ती भारतीय शहर तथा गाउँहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्