एक वर्षभित्रै कपुरकोटमा बत्ती बल्ने



सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले एक वर्षभित्रै पालिका भरिका सबै घरधुरीमा विद्युतीकरण गरिसक्ने भएको छ । पालिकालाई अध्यारोमुक्त गर्ने लक्ष्यका साथ अगाडि बढेको गाउँपालिकाले एक वर्षभित्रै सबै घरधुरीमा विद्युतीकरण गरिसक्ने भएको हो ।

अहिलेसम्म ६५ प्रतिशत घरधुरीमा बत्ती बलिसकेकाले अबको एक वर्षभित्रै अध्यारोमुक्त गाउँपालिका बनाउनको लागि काम शुरु भएको अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । उहाँका अनुसार विद्युत नपुगेका सबै ग्रामिण स्तरका बस्तीहरुमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरण सल्यान र कपुरकोट गाउँपालिकाबीच सम्झौता गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको पाँच करोड अनुदान र गाउँपालिकाको दुई करोड गरि सात करोड लागतबाट विद्युतीकरण गर्न लागिएको उहाँले बताउनुभयो । अहिले पनि गाउँपालिकाका सबै घरधुरीमा बत्ती पुग्न नसकेकाले नागरिक सोलारको सहारामा बस्न बाध्य छन् ।

ग्रामीण विद्युतिकरण गर्ने गराउने सम्झौता पत्रमा हस्ताक्षरसमेत भईसकेकाले केही दिनभित्रै डेन्डर आवान गरी काम अगाडि बढाइने अध्यक्ष पुनले बताउनुभयो ।

करिब तीन हजार छ सय ५७ घरधुरी रहेको पालिकामा अहिलेसम्म एक हजार चार सय १८ घरधुरीमा बत्ती बलेको छ । यसै आर्थिक वर्ष २०७९÷०८० भित्र बाँकी रहेका करिब दुई हजार एक सय ८२ घरधुरीमा बत्ती बाल्नको लागि काम अगाडि बढाईएको प्रमुख प्रशासकीय अधिकृत भरत वलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्