समस्यामा परेका बालबालिकालाई सहयोग



धादिङ । जिल्लाको गल्छी गाउँपालिका–५ स्थित कालिका आधारभुत विद्यालयका ११ जना विद्यार्थीलाई काठमाण्डौं लिकमार्ग निवासी सिंह परिवारले न्यानो कपडा सहयोग उपलब्ध गराएको छ ।

आमा नभएपछि पढ्नमा भन्दा नाना र खानाको चिन्ता शीर्षकमा नेपाल समाचारपत्र दैनिकमा माघ ५ गते समाचार प्रकाशन भएपछि सहयोग उपलब्ध गराईएको हो ।

आमा बाबू दुवैले छाडेका गल्छी गाउँपालिका–५ छहराकी ८ वर्षीया सुनिता रमतेल लगायतका बालबालिकाहरुले आमा नभएका कारण खान र लाउनको समस्या परेको समाचार प्रकाशन भएको थियो ।

समाचार प्रकाशनपछि काठमाडौं कुलेश्वर लिकमार्ग निवासी कर्ण बहादुर सिंह, पजुमा सिंह, कमलादेबी सिंह, छोरा कुशल सिंह, श्रीमती बिमलादेबी भडेल, श्रीमती कृपि सिंहले २८ हजार ५ सय बराबरको कपडा उपलब्ध गराईएको थियो ।

थ्रिपवाला ट्रयाक सेट, स्वीटर, उलन टोपी, जुत्ता मोजा उपलब्ध गराईएको विद्यालयका प्रधानाध्यापक बैकुण्ठ अधिकारीले बताउनुभयो ।

गल्छी गाउँ पालिका अध्यक्ष केदारनाथ खतिवडा, ५ नम्बर वडा सदस्य रामप्रसाद अधिकारीले अति समस्यामा परेकालाई गरिएको सहयोगको लागि सिंह परिवारलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्