सुदूरपश्चिममा भूकम्प : एकको मृत्यु, ३ घाइते



धनगढी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरुको उद्दार र उपचारमा खटिन निर्देशन दिएका छन्। मंगलबार बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाको गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुको उचित व्यवस्थापनका लागि पनि रावलले निर्देशन दिएका हुन्।

भुकम्पले बझाङ, बाजुरासहितका पहाडी जिल्लामा भएको क्षतिप्रति गम्भीर बन्दै सोहीअनुसार खटिन सुरक्षा निकाय प्रमुखहरुलाई निर्देशन दिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

मुख्यमन्त्री रावलले अझै भूकम्पका परकम्प आउन सक्ने भन्दै चनाखो रहन समेत सबैलाई आग्रह गरेका छन्। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पका कारण बाजुराको गौमुल गाउँपालिकामा महिलाको मृत्यु भएको छ भने जिल्लामा अन्य तीन जना घाइते भएका छन्।
बाजुरा प्रहरीकाअनुसार घाइते हुनेमा गौमुलका एक जना, बडिमालिकाका एक जना र हिमालीका एक जना रहेका छन्। अहिले उनीहरुको उपचार भैरहेको र सामान्य अवस्था रहेको बताइएको छ।

सो क्षेत्रमा अहिले पनि हिमपात र वर्षाका कारण टेलिफोन सम्पर्क हुन नसक्दा हिमाली गाउँपालिका र गौमुल गाउँपालिकाका कतिपय वडाको क्षति विवरणको अवस्थाबारे जानकारी आउन नसकेको प्रहरीको भनाई छ। उता बझाङमा पनि भौतिक संरचनामा क्षति पुगेको तर अहिलेसम्म मानवीय क्षतिको विवरण भने नआएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्