कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक बस्दै



सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज (बुधबार) दिउँसो यस प्रदेश मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

हिजो (मंगलबार) सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच मन्त्रालय बाँडफाँडको विषय टुंगो लागेसँगै आज मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

बैठकबाट मन्त्रालय बाँडफाँडको टुंगो लागेसँगै माओवादी केन्द्रको भागमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय परेको छ ।

त्यस्तै एमालेको भागमा भने आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको एमाले कर्णाली प्रदेश इञ्चार्ज यमलाल कँडेलले जानकारी दिए ।

माओवादी केन्द्र र एमालेको भागमा परेको मन्त्रालयमा मन्त्रीहरू आजै नियुक्ति तथा शपथ ग्रहण गर्ने भएकोले मन्त्रिपरिषद्को बैठकको आह्वान गरिएको माओवादी केन्द्र कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

कर्णालीमा पनि मन्त्रालयको संख्या घटाएसँगै सानो र प्रभावकारी मन्त्रीमण्ड बन्ने मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्