आदिशक्ति श्रीस्वस्थानी माताको व्रतोपासना र महिमा



हरेक वर्ष पौषशुक्ल पूर्णिमाका दिनदेखि माघशुक्ल पूर्णिमासम्म एक महिना साँखुको नारी नदीमा आदिशक्ति श्रीस्वस्थानी माताको व्रत बस्ने र कथा भन्ने परम्परा रही आएको छ । त्यहाँ माधव नारायण देवताको पूजा गर्ने र जात्रा पनि गरिन्छ । साँखुको नारी नदीलाई नादी नदी, शैल नदी, नालन्दी र नारायणी पनि भन्ने गरिन्छ । यो शाली नदी बोधिसत्व महाराज मणिचुड बसेको स्थान मणिचुड दह मणि शैलबाट बगेर आइरहेको हो भनिन्छ । यो साँखु देश वज्रयोगिनी देवीको आज्ञा अनुसार राजा शंखदेव र पुजारी जोगदेव वज्राचार्य मिलेर कलिगत संवत् १८०१ मा नौवटा दह, नौवटा विहार, चारवटा खाल, चारवटा कुण्ड र चारवटा ढोकासमेत निर्माण गराएर स्थापना गरिराखेको हो भनिन्छ ।

महिनाभरि श्रीस्वस्थानी माताको कथा भन्ने क्रममा श्रीस्वस्थानी परमेश्वरीको पूजा गरेर श्री सत्यनारायणको पनि व्रत बसी महादेव र नारायणको पनि पूजा गर्ने गरिन्छ । महिलाहरु महिनाभरि व्रत बसेर नुनसमेत नखाई दिनहुँ फलाहार मात्र खाएर त्यहीँ बस्ने गर्छन् । पुस, माघजस्तो जाडो समयमा दिनहुँ बिहान सबेरै शाली नदीमा नुहाएर दिनहुँ रात्रिमा पनि त्यहीँ श्रीस्वस्थानीको भक्तिभाव गरी कथा सुनेर बस्ने गर्छन् । व्रत बस्ने महिलाहरुले रातो फरिया लगाउने गर्छन् ।

श्रीस्वस्थानीको कथामा यो संसारको सृष्टि भएदेखिका कुरालाई लिएर मधुकैटभ दैत्यको वध विष्णु भगवानले गरिसकेपछि मधुकैटभ दैत्यको शरीरबाट पहाड र जमिन बनेको अनि दक्ष प्रजापतिलाई ब्रह्माले सृष्टि गरेर मानिसहरुको सृष्टि चलाएको कुरा रहेको छ । दक्ष प्रजापतिकी ठूली छोरी सतीदेवीसहित धेरै संख्यामा छोरीहरु भएकाले सबै छोरीहरुको विवाह भगवान विष्णुका साथै तेत्तीस कोटी देवताहरुसँग गरिदिए । सतीदेवी एउटी मात्र दक्ष प्रजापतिलाई मन नपर्ने महादेवसँग विवाह भएको रहेछ । भाँग, धतुरो खाने, नन्दी, भृंगी, भूतप्रेत, पिशाच पछि लगाएर हिँड्ने, बाघको छाला बेरेर जथाभावी हिँड्ने, हेर्दै अघोरीजस्ता महादेवले छलकपट गरेर सतीदेवीसँग विवाह गरेकाले दक्ष प्रजापतिलाई मन नपरेको हो भन्ने कुरा पनि श्रीस्वस्थानीको कथामा रहेको छ ।

दक्ष प्रजापतिले कोटीहोम गर्दा मन नपर्ने ज्वाइँ महादेव र छोरी सतीदेवीलाई मात्र नबोलाई अन्य सबै छोरी ज्वाइँका साथै तेत्तीस कोटी देवता, नाग, नागिनी, यक्ष, किन्नर सबैलाई बोलाए । यो कुरा थाहा पाई सतीदेवीले आफ्नो र महादेवको अपमान भएको ठानी माइतीमा गई होम गरिरहेको स्थानमा धेरै नै रिसाएर आदिशक्ति स्वरुप उग्ररुप लिँदा देवताहरु त के कोही पनि अगाडि बस्न सकेनन् । भयंकर प्रलयजस्तै भइरहेको उक्त समयमा स्वयं महादेव पनि सतीदेवीको त्यो उग्ररुपसामु बस्न नसकेर भाग्नुप¥यो । महादेव जहाँ–जहाँ भागे त्यहीँ–त्यहीँ विभिन्न रुप लिएर सतीदेवीले छेक्न गइन् । यसरी छेक्दाछेक्दै दश स्थानमा अर्थात् दश दिशामा दशवटा रुप काली, तारा, छिन्नमस्ता, धुमावती, बंगलामुखी, कमला, त्रिपुराभैरवी, भुवनेश्वरी, त्रिपुरासुन्दरी र मातंगी हुन गए । यसैलाई दश महाविद्या भनिएको हो । यो कुरा महाभागवतको कथामा उल्लेख गरिएको छ । यसरी भाग्दा–भाग्दा केही सीप नलागी जब महादेव भुइँमा उत्तान्नो परिदिन्छन् तब त्यही बेला डरलाग्दो काली रुप लिइरहेकी सतीदेवीको पाइला महादेवको छातीमा पर्छ । आफ्नो पाइतालामुनि के पर्न आयो भनी कालीरुपी सतीदेवीले हेर्दा त महादेवलाई देख्नेबित्तिकै झस्केर त्यसपछि शान्त भई, आफ्नो वास्तविक सतीदेवीको रुपमा परिणत भई, यज्ञमा गई, आफैंले आगोको ज्वाला प्रकट गरेर आफ्नो प्राण त्याग्छिन् । आगोले पनि छुन नसकेकी सतीदेवीको मृत शरीर बोकेर महादेव विभिन्न स्थानमा गइरहँदा सतीदेवीको विभिन्न अंग सडेर खसेको ठाउँमा विभिन्न शक्तिपीठ बनेको हो भन्ने मान्यता रही आएको छ । श्रीस्वस्थानीको कथामा लेखिए अनुसार एकाउन्न शक्तिपीठमध्ये काठमाडौंमा रहेको शक्तिपीठ भने गुह्येश्वरी शक्तिपीठ हो ।

पछि सतीदेवी नै पर्वतराज हिमालय र मेनकाको गर्भबाट पुत्रीको रुपमा पार्वती भएर जन्म लिएपछि महादेव नै पति पाऊँ भनी श्रीस्वस्थानीको व्रत बसी महादेव पति प्राप्त गरेकी हुन् भन्ने कथामा छ । श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले नै महादेव पति प्राप्त भएको र संसारका दुःखीहरुको उद्धार गर्न महादेवको आज्ञा लिई पार्वतीले रसातल, पाताल र मत्र्यलोकमा श्रीस्वस्थानीको प्रचार गरेको कुरा कथामा उल्लेख गरिएको पाइन्छ । त्यसैको स्मरणस्वरुप यो परम्परा हालसम्म पनि चल्दै आइरहेको हो भनिन्छ ।

काठमाडौंमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखन टोलको तारिणी बहालमा छ । महादेवसहितको त्यस मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरेको कुरा मूर्तिको खुट्टामा उल्लेख गरिएको छ । हरेक वर्ष साँखुमा श्रीस्वस्थानी भवानीको व्रत बस्ने महिलाहरुको संख्या सयभन्दा बढी हुने र त्यो संख्या हरेक वर्ष बढ्दै गइरहेको देखिन्छ । व्रत बस्नेहरु महिनाको समयमै भक्तपुर चाँगुनारायण, पनौती त्रिवेणी घाट, काठमाडौंको पशुपति र फर्पिङको शेषनारायणसम्म नाङ्गै गोडाले हिँडेर गई ती स्थानहरुमा एक–एक दिन बास बस्ने परम्परा छ । यसरी जानुलाई परदेश जाने भनिन्छ ।

विभिन्न स्थानमा विभिन्न किसिमले श्रीस्वस्थानीको व्रत बस्ने गरिन्छ । यसरी अविवाहित युवतीले व्रत बस्दा लायक, सुन्दर र असल पति प्राप्त हुने र मनको सम्पूर्ण इच्छा पूरा हुने जनविश्वास रहिआएको छ । विवाह भैसकेका महिलाहरुका हकमा पनि व्रतका प्रभावले पति र घर–परिवारमा शुभ हुने विश्वास गरिन्छ । देशैभर यसरी श्रीस्वस्थानीको व्रत बसेर कथा सुन्ने र सुनाउने गरेमा घरघरै शान्ति हुन्छ भन्ने पनि जनविश्वास छ ।

साँखुमा केटाहरुले पनि व्रत बसेर अष्टमातृका देवीको आराधना गरी जीउ नाप्ने र महिलाहरुले सहस्र धारा बहाउँदै वज्रयोगिनी देवीलाई क्षमा पूजा गर्छन् । माघ महात्म्य गर्ने भन्दै टोलैपिच्छे सहस्र धारा बगाउँदै तीर्थमा नुहाएर परिक्रमा गर्दछन् । अब यो परम्परा कम भैसक्यो । तर साँखुमा भने यो परम्परा रहेको छ ।

यस्तै पाटनको थेचोमा भने यो परम्परा अझै बाँकी छ । थेचोमा माघ महात्म्य परिक्रमा गर्दा दश अवतार प्रदर्शन गरेर सवा लाख सहस्र धारा बगाउँदै जात्रा मनाउने परम्परा छ । श्रीस्वस्थानीको कथा भन्न शुरु भएदेखि नै माघ महात्म्य जात्रा शुरु हुन्छ । यो दिन थेचोबासीहरुले कुलदेवता पूजा, शृहस्पतिको जात्रा र माघ महात्म्य एकैचोटि मनाइनाले यसको विषेश महत्व छ । बिहानैदेखि मनाइने यो जात्रामा जल बगाउन जाने भनी व्रत बस्ने महिलाहरुले आफ्नो शरीरमा पाल्चा (दियो) बालेर थेचोका ब्रह्मायणी, बालकुमारी, नवदुर्गा, सत्य भैरव परिक्रमा गरेर अति नै श्रद्धाभक्तिका साथ थेचोका ज्यापूहरुले जात्रा चलाउँदै आइहेका छन् । यो जात्रामा दश अवतारका साथै मनाइने भएकोले अत्यन्तै रमाइलो हुन्छ । देगु पूजा, माघ महात्म्य र बृहस्पति जात्रा पनि भएकोले यो थेचो जात्रालाई एक थेचो तीन जात्रा पनि भन्ने गरिन्छ । यो जात्रा कहिलेदेखि चल्दै आएको हो भन्ने ठोस प्रमाण नभए पनि मल्लकालदेखि यो जात्रा चल्दै आएको हो भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्