वाम एकता



वाम पन्थको होस् वा दक्षिण पन्थको– एकता हुनु नराम्रो होइन । एकता शब्द सकारात्मक छ, नकारात्मक होइन । सामान्यतः कसैको पनि एकता हुनु राम्रो हो । तर एकता भएपछि आम व्यक्तिको हितमा के हुन्छ भन्ने प्रश्नको जबाफ नखोजी हरेक एकताका पक्षमा दुन्दुभी बजाउनुभने अर्थहीन देखिन्छ ।

वाम एकताको बारेमा अहिले विभिन्न कोणबाट चर्चा शुरु भएको छ । मुलुकमा वामपन्थीहरुको कुल बहुमत देखिएपनि विभिन्न धारमा विभाजित भएका कारण संसद्मा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस छ ।

वाम दहहरुबीच विभाजन र फुट भएको फाइदा वामइतर समूहले उठाउँदैआएका छन् । वामपन्थीहरु व्यक्तिवादमा केन्द्रित भएका र एकले अर्कालाई दक्षिण पन्थी र उग्रवामपन्थी देख्ने गरेका कारण उनीहरु एकै ठाउँमा उभिन सकेका छैनन् । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा नेपालका कम्युनिष्टहरु एक दर्जनभन्दा बढी समूहमा विभाजित भएका छन् ।

मुलुकमा जब–जब निर्वाचन सम्पन्न हुन्छ तब–तब वाम समूहहरुले वार्ता समिति बनाएर एकताको कुरा गर्छन् तर एकले अर्काको अस्तित्व स्वीकार गर्न सक्दैनन् । सबैलाई आफै अध्यक्ष हुनुपर्छ जुन सम्भव हुन्न, तब पुनः आ–आफ्नो बाटो लाग्ने गर्दछन् । गत मंसिर ४ मा संघ तथा प्रदेशको निर्वाचन सम्पन्न भएपछि फेरि वाम एकताको कुराले बजार तताएको छ ।

अहिले विभिन्न चिरामा विभाजित कम्युनिष्ट समूहहरु एकता गर्ने भन्दै वार्ता समिति बनाएर छलफलमा जुटेका छन् । केही समूहले तत्कालै एकता गर्ने बताउँदैआएका छन् भने कतिपयले भने अहिले एकता सम्भव नभएकाले छलफललाई निरन्तरता दिने सहमतिसम्म गरेको समाचार सार्वजनिक भएका छन् । यसले के देखाउँछ भने नेपालका सबै कम्युनिष्टहरु एउटै छातामा आउन चाहँदैनन् ।

लक्ष्य एकै भएपनि फरक फरक दृष्टिकोणबाट साम्यवादको व्याख्या गर्ने कम्युनिष्टहरुको पुरानो रोगका कारण एकतामा जहिले पनि प्रश्न उठ्नेगरेको छ । वामपन्थीप्रति आस्था राख्ने नेपालीको समूह ठूलो हुँंदाहुँदै पनि निर्णयक तहमा वामपन्थीको नेतृत्व प्रायः देखिने गरेको छैन । विस्तारै वामपन्थी समर्थक जनताहरु ‘स्वतन्त्र दल’ हरु जन्माउन थालेका छन्, एक प्रकारले वैचारिक विद्रोह गरिरहेका छन् ।

जुनसुकै पन्थ भने पनि उनीहरुले देश र जनताको लागि राजनीति गरेको सावित नभएसम्म अब जनता समर्थनमा उत्रिने छैनन् । त्यसैले आफ्ना व्यक्तिगत कुन्ठालाई त्याग नगरेसम्म मुलुकमा वामपन्थी एकता हुने कुरा एकादेशको कथा नहोला भन्न सकिंदैन । त्यसैले सबै एक भएर अगाडि बढ्ने हो भने मुलुकले स्थायी रुपमा वामपन्थी सरकार पाउने थियो तर त्यसका लागि नेताहरु तयार भएको देखिंदैन ।

आपूmले अंगीकार गरेको नीति ठिक, अरुले लिएको नीति बेठिक भन्ने मनोभावना नहटेसम्म एकताका कुरा आउने र बीचमा नै सेलाउने निश्चित छ । विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको कालोबादललाई चिर्ने हो भने नेपालका कम्युनिष्ट नाम धारण गरेका समूहहरुले सबै कुरालाई बिर्सेर एकता गर्नुको अर्को विकल्प देखिंदैन ।

एकताको रटान गर्ने तर व्यवहारमा भने अन्यथा गर्ने वानीको अन्त्य अहिलेको आवश्यकता हो । साथमा जनता सामुन्य एकताको आवश्यकता पुष्टि नगरेसम्म एकता गर्दैमा जनसमर्थन अब ओइरिनेवाला पनि छैन ।

प्रतिक्रिया दिनुहोस्