‘हरियो पासपोर्टभित्रका कैदीहरू’



देशमा आँसुको वर्षा झारेर
पसिनाको वर्षा
अरबमा झार्न
एउटा मोनालिसा फोटो
त्रिभुवन विमानस्थलमा खिचेर
भर्खर उसले देश छोड्यो।

भोलि बाट उसले बिर्सनेछ
गाउँमा बिताएको पच्चिसौ वसन्त
सम्झनेछ त केवल
पासपोर्ट भित्रको आफ्नो जवान चित्र।

माथि आकाशबाट हेर्नेछ।
लहर नमिलेको इँटाको थुप्रो जस्तो काठमाडौँ
हिमालका सहरहरू

पृथ्वीनारायणका सेना जस्तै पहाडहरू
अनि,दक्षिण बाट उडी आएको बादलका थुम्काहरू
तराइको उखु खेतीबडेमाको अजिङ्गर जस्तो नदीहरु

भूकम्पमा भत्किएको गाउँ
र,बनिँदै गरेको धरहरा
यसरी उसले देश भ्रमण गर्दै
सात समुन्द्र कट्ने छ।
पुग्नेछ पानी जस्तै उडेर तेल र ग्यासहरूको देश।

त्यस पछि,
त्यो समुन्द्रको पानीमा
उसले मेरो नदीको पानी पनि छ
छाम्न पाउँदैन।
यो पृथ्वी मेरो पनि हो भन्न पाउँदैन।
घाम,जुन,ताराहरू आफ्नो सोच्न पाउँदैन।
मात्र सोच्न पाउनेछ।
म बिक्री भएको आधुनिक मान्छे।

ठिक,त्यही बेला
पानी पर्नेछ अरबमा।
ठिक यही बेला छाता ओढ्नेछ सिंहदरबार।

हरियो पासपोर्ट भित्रका कैदिहरु रुझ्नेछन्।

– महेन्द्र राई

प्रतिक्रिया दिनुहोस्