आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तक अभाव हुन नदिने मन्त्रीको प्रतिबद्धता

‘किताब नपुगुन्जेलसम्म निरन्तर बोलाउँछौं’



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले आगामी शैक्षिकसत्र २०८० मा पाठ्यपुस्तक अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । आफूले भर्खरै शिक्षा मन्त्रालयको वागडोर सम्हाले पनि पाठ्यपुस्तक छपाइ र कागजको अवस्थाको बारेमा जानकार रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय सभाको दिगो विकास तथा शुसासन समितिले हिजो सोमबार सरोकारवालासँग गरेको छलफलमा मन्त्री खनालले जीटूजी गरेर वा विशेष निर्णय गरेर भए पनि कागज अभाव हुन नदिने र नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने दाबी गर्नुभयो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अध्यक्ष एवं शिक्षा सचिव रामकृष्ण सुवेदी र जनक शिक्षा सामग्री संस्थान लिमिटेडका प्रबन्ध सञ्चालकसँगै राखेर मन्त्री खनालले भन्नुभयो– ‘आगामी शैक्षिकसत्रका लागि पाठ्यपुस्तक अभाव हुन दिनेछैनौं ।’ उहाँले आफूले पाठ्यपुस्तक छपाइको अवस्थाबारे जनक शिक्षासँग लगातार जानकारी लिइरहेको समितिलाई जानकारी गराउनुभयो ।

शिक्षा मन्त्रालयका सचिव सुवेदीले जनक शिक्षालाई पुस्तक छपाइको भार पर्न नदिन कक्षा १–५ सम्म निजी प्रकाशकलाई छपाइ र वितरण गर्न दिने निर्णय गरेको जानकारी गराउनुभयो । उहाँले जनकले १–१२ सम्मकै पाठ्यपुस्तक छपाइ गर्ने अधिकार छ । तैपनि समयमै पाठ्यपुस्तक पुग्न सकोस् भनेर कक्षा १–५ को निजीलाई जिम्मा दिएको बताउनुभयो ।

सचिव सुवेदीले माघ २९ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको मन्त्री परिषद्को बैठकले निजीलाई पुस्तक छपाइ गर्न दिने निर्णय गरेको थियो । चालु शैक्षिकसत्रमा मन्त्रालयले कक्षा १–३ सम्म मात्र दिने निर्णय गरेको थियो । बैठकमा सचिव सुवेदीले आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तक पु¥याउन सक्ने गरी काम भइरहेको बताउनुभयो । सचिव सुवेदीले दैनिक कार्ययोजना तयार गरेर पाठ्यपुस्तक छपाइ र वितरण गर्ने जानकारी गराउनुभएको थियो ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले आगामी शैक्षिकसत्रका लागि आवश्यक पर्ने पाठ्यपुस्तक धमाधम छपाइ भइरहेको बताउनुभयो । भन्नुभयो–‘हालसम्म ५० लाख थान पाठ्यपुस्तकको छपाइ सकिएको छ, आवश्यक पर्ने पाठ्यपुस्तक समयमै छपाइ गरेर वितरण गर्नेछौं ।’ उहाँले कागज अभावको समस्या समाधान गर्न तत्काल जीटूजी वा निर्वाचन आयोगले मतपत्र छपाउँदा आवश्यक पर्ने कागज ल्याउँदा बनाएको नियम लागु गरेर भए पनि ल्याउने निर्णय गर्नुपर्ने बताउनुभयो ।

आयोगलाई सीधै कागज किन्ने अधिकार दिएको छ । आयोगले छोटो समयमा टेन्डर आह्वान गरेर वा खरिद प्रक्रिया पूरा नगरी कागज वा अन्य सामग्री खरिद गर्न सक्ने अधिकार छ । प्रबन्ध सञ्चालक झा र शिक्षा सचिव सुवेदीले सरकार वा संसद्ले कागज खरिद गर्ने प्रक्रियामा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

लगत्तै मन्त्री खनालले सचिव र प्रबन्ध सञ्चालकले भनेको विषय गम्भीर रहेको बताउँदै कागज वा अन्य सामग्री अभाव हुन नदिन सोही प्रक्रिया अपानाउनुपर्ने बताउनुभयो । छलफलमा बोल्दै अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले निजीलाई चोरबाटोबाट १–५ कक्षाको पुस्तक छाप्ने निर्णय गरेको आरोप पगाउनुभयो । उहाँले भन्नुभयो– ‘सबै निर्णय किन सुटुक्क गरिन्छ । किताब छापेर वितरण गर्ने समयमा निजीलाई दिने निर्णय गरेर गलत भएको छ ।’ भन्नुभयो भन्नुभयो– ‘अहिले जनकशिक्षालाई धराशायी बनाउन खोजिएको छ । हातखुट्टा बाँधेर दौडन भनिएको अवस्था छ । यस्तो अवस्थालाई तत्काल अन्त्य गरी समयमै पुस्तक पु¥याउने निर्णय गर्नु उचित हुन्छ ।’

‘किताब नपुगुन्जेलसम्म निरन्तर बोलाउँछौं’

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक नपुगुन्जेल निरन्तर बोलाउने जानकारी गराउनुभएको छ ।

‘हामीले निर्देशन दिनु एउटा कुरा हो, हामी फिल्डमै गएर भए पनि निरन्तर निगरानी गरिरहन्छांै, किताब नपुगुन्जेल सधैं बोलाउनेछौं’ –सभापति पन्तको भनाइ थियो ।

समितिले समयमै पाठ्यपुस्तक पु¥याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । त्यसक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले कार्ययोजना बनाएर पाठ्यपुस्तक पु¥याउन निर्देशन दिनुभएको थियो ।

बैठकमा राष्ट्रिय सभाका सांसद नारायण दाहाल, कमला पन्तलगायतले बोल्नुभएको थियो । समितिले केही दिनमा निर्देशन दिने जनाएको थियो । पाठ्यपुस्तक पुग्न नसक्ने आशंका गर्दै समितिले सोमबार दोस्रोपटक मन्त्री, सचिव रामकृष्ण सुवेदी, जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झा, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेल, अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीलाई समितिमा बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्