मेरो कार्यकालमा भ्रष्टाचार हुन दिन्न : स्वास्थ्यमन्त्री गिरी



काठमाडौँ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आफ्नो कार्यकालमा भ्रष्टाचार र कमिसनको खेल हुन नदिने बताएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले सोमबार मन्त्रालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले आफू पदमा रहँदासम्म भ्रष्टाचार र कमिसनको खेल हुन नदिने बताएका हुन्।

हरेक काम पारदर्शी ढंगबाट मात्र हुने मन्त्री गिरीको प्रतिवद्धता छ। जनताको रगत पसिनाबाट प्राप्त भएको राजश्वलाई दुरुपयोग हुन नदिने उनले बताए।
‘म नेतृत्वमा आइसकेपछि सेटिङ गरेर वा नीतिगत भ्रष्टाचार हुने कही गुञ्जायस हुन दिने छैन। प्रत्येक कुरा पारदर्शी हुनुपर्छ। जनताको रगत पसिनाको थोपा थोपा मिसिएर प्राप्त भएको राजश्वलाई कहि कतै पनि भ्रष्टाचार हुने, दुरुपयोग हुन दिन्न।’ उनले भने।

यसैबीच बाँकेमा कुनै पनि बालबालिकालाई खोप लगाउन नछुटाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेको मन्त्री गिरीले बताएका छन्। आइतबार मात्रै बाँकेमा फैलिएको दादुरा प्रकोप नियन्त्रणको अवकलोकनका लागि मन्त्री गिरी सहितको स्वास्थ्य मन्त्रालयको टोली त्यहाँ पुगेको थियो। दादुराको प्रकोप नियन्त्रण हुन अझै एक महिना लाग्ने बताउँदै उनले नियन्त्रणका लागि स्रोत साधनमा कुनै पनि कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेदेखि स्वास्थ्य बिमा कार्यक्रम प्रमुख प्राथमिकतामा रहेको बताउने गरेका उनले यसको कार्यान्वयन गरेरै छाड्ने उल्लेख गरे। बिमाको दायरालाई अझ फराकिलो र व्यापक बनाएर लैजान सके मात्र गरिब तथा विपन्न नागरिकले स्वास्थ्य सेवा पाउन सक्ने उनले बताए।
उनले भने, ‘बिमा कार्यक्रम कार्यान्वयन गर्नुपर्छ। कार्यान्वयन नगर्ने छुट छैन। बिमाको दायरालाई अझ फराकिलो बनाएर लैजानुपर्छ। तब मात्र गरिब तथा विपन्न नागरिकले स्वास्थ्य सेवा पाउँछन्।’

योसँगै स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको विषय पनि आफ्नो प्रमुख प्राथमिकतामा रहेको उनले बताए। पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि ठोस योजनाका साथ अघि बढ्ने उनको प्रतिवद्धता छ।
‘कहाँ, कुन ठाउँमा के अवस्था छ भनेर हामी अध्ययन गर्छौ।’ उनले भने, ‘पूर्वाधार र जनशक्तिको व्यवस्थापनका लागि ठोस योजनाका साथ हामी आउँछौ।’

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्