कोइरी पक्राउ नहुनुमा गृह प्रशासन नै मुख्य दोषी : एमाले सचिव महासेठ



काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपर्नुमा गृह प्रशासन नै मुख्य दोषी रहेको नेकपा एमालेले आरोप लगाएको छ । नेपाल समाचारपत्रसँग आइतबार कुरा गर्दै एमाले सचिव महासेठले कोइरी पक्राउ पर्न नसक्नुमा गृह प्रशासन नै दोषी भएकोे दाबी गर्नुभयो ।

सांसद कोइरीलाई पार्टीले वा पार्टीका नेताहरूले संरक्षण गरेको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्दै महासेठले प्रश्न गर्नुभयो– ‘अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीको सूचीमा रहेको सांसदलाई पक्राउ गर्न गृहमन्त्रीले नै निर्देशन दिइसकेको अवस्थामा किन पक्राउ गर्न सकिएन ।’

कोइरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा संसद् भवनमा उपस्थित रहेको जिकिर गर्दै महासेठले भन्नुभयो– ‘सांसद संसद्भवन छिर्दा पनि बाहिरिँदा पनि प्रहरी हुन्छ । तर, पनि उनी पक्राउ नपर्नु गृह प्रशासनको मिलोमतो हो । कानूनी कारबाहीबाट बचाउन पार्टीले कसैलाई प्रभावित पारेको छैन, यो गृह मन्त्रालयको काम हो ।’

सचिव महासेठले न्यायिक इजलासबाटै दोषी ठहर भएको व्यक्तिलाई गृहमन्त्रीले पनि निर्देशन दिनु नपर्ने धारणा राख्दै यसमा गृह प्रशासनकै कार्यशैली शंकास्पद भएको टिप्पणी गर्नुभयो । मधेस आन्दोलनको क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका जवान प्रेमबहादुर विकको हत्या प्रकरणमा महतोलाई उच्च अदालतले दोषी ठहर गरेको थियो । हत्या आरोपका बीच उनी महोत्तरी १ बाट संघीय सांसद निर्वाचित हुनुभएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टीमै रहँदा मधेस आन्दोलनको क्रममा विकको हत्या भएको थियो । उक्त हत्या प्रकरणमा कोइरी संलग्न रहेको जिकिरसहित मुद्दा दायर भएको थियो । विक हत्या प्रकरणमा देवेन्द्र यादव, कौशलकुमार यादव, अभिराम शर्मा र अनिल ठाकुरविरुद्ध पनि मुद्दा दायर भएको थियो । २०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा विकको हत्या भएको थियो । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लिखित निर्देशन दिएको दुई दिन बित्दासमेत उहाँ फेला पर्नुभएको छैन ।

यस विषयमा शनिबार प्रतिनिधिसभा संसद्मा विपक्षी दलका सांसदहरूले नियामापत्ति जनाउँदै गृहमन्त्रीप्रति प्रश्न उठाएका थिए । उहाँलार्ई पक्राउ गर्नेबारे प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयको बीचमा समेत विवाद देखिएको छ । माघ ६ मा गृह मन्त्रालयले कोइरीलाई पक्राउ नगरेकोमा विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो ।

महोत्तरीको गौशाला नगरपालिका–२ का निवासी कोइरीलाई पक्राउ गर्नेबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको थियो– ‘उपप्रधानमन्त्रीज्यूबाट पटकपटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उहाँ प्रहरीको ‘खोजी सूची’मा हुनुहुन्छ । अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग रहेको बताइएको छ । प्रहरी प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरूमा पठाइएको जनाएको छ ।

चुनावअघि जसपा छाडेर एमाले प्रवेश गरेका कोइरीविरुद्ध प्रेमबहादुर विकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कर्तव्य ज्यान मुद्दाको जाहेरी दिनुभएको थियो । सो मुद्दामा तारेख गुजारेर उहाँ फरार भएको थियो । उपत्यका प्रहरी कार्यालयले कोइरी बस्ने घरमा निगरानी बढाउन प्रहरी परिचालन गरे पनि गृहको पत्र सार्वजनिक भएपछि उनी भारत छिरेको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्