राष्ट्रपति भण्डारीबाट संगीतकर्मीलाई नातिकाजी सम्मान र पुरस्कार



संगीत महर्षी नातिकाजीको ९८औं जन्मजयन्तीको अवसरमा नातिकाजी स्मृति समाजले शुक्रबार राष्ट्रपति भवन, शितल निवासमा एक कार्यक्रम आयोजना गरी गीत–संगीत र साहित्यका क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष शम्भुजित बासकोटाको सभापतित्व र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको विशेष आतिथ्यतामा सम्पन्न नातिकाजी राष्ट्रिय सम्मान र पुरस्कार वितरण समारोहमा राष्ट्रपति भण्डारीले नेपाली गीत(संगीतमा जीवन अर्पित गरी योगदान गरेका विशिष्ट र कनिष्ठ तथा सम्भावना बोकेका विभिन्न विधाका संगीतकर्मीलाई नातिकाजी सम्मान र पुरस्कार प्रदान गरिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले रचनातर्फ मनबहादुर मुखिया, शुभ मुकारुङ र अमर बान्तु, गीत रेकर्डिङतर्फ दीप तुलाधर, गायनतर्फ प्रदीपराज पाण्डे, दीपा नारायण झा, कन्हैया सिंह परियार र विके राना तथा संगीत संयोजनतर्फ फणिन्द्र राईलाई नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान ( २०७८ प्रदान गरिन् ।

राष्ट्रपति भण्डारीले रचनार्फत एकनारायण भण्डारी, संगीततर्फ कालीप्रसाद बासकोटा तथा गायनतर्फ राज सिग्देल र माण्डवी त्रिपाठीलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७८, रचनातर्फ देवेन गिरी, संगीततर्फ दीपक शर्मा तथा गायनतर्फ कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८, संगीत प्रशिक्षणतर्फ संगीत गुरु चन्दनकुमार श्रेष्ठलाई नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार–२०७८, लोक संगीतर्फ देवी घर्तीलाई नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार र संगीत संयोजनतर्फ रविन कार्की ढलीलाई नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार, पत्रकारितातर्फ डब्बु क्षेत्री र कुवेर गिरीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७८ प्रदान गरिन्। सम्मानित तथा पुरस्कृत सबैलाई समाजका तर्फबाट जनही नगद ११ हजार एक सय ११ रुपियाँ प्रदान गरिएको थियो ।

सोही अवसरमा काठमाडौं महानगरपालिका, म्युजिक नेपाल प्रालि र सञ्चारकर्मी तथा कलाकर्मी दिनेश डीसीलाई योगदान सम्मान पत्र तथा फिल्म निर्माण नियन्त्रक सुवासराज काफ्ले र फोटोग्राफर मनोज शाहीलाई योगदान प्रशंसापत्र प्रदान गरियो ।

सञ्चारकर्मी दिनेश डीसीद्वारा सञ्चालित समारोहमा राष्ट्रपति भण्डारीले नेपालका विविध जाति र उनीहरूको भाषा, संस्कृति, गीत–संगीतको एकता नै नेपाली संगीतको राष्ट्रिय स्वरूप भएको चर्चा गर्दै नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र संगीतले एक ढिक्का बनाउन सघाएको बताइन् । उनले नेपाली मौलिक गीत–संगीतको जग पुस्ताका रूपमा संगीत महर्षि नातिकाजी श्रेष्ठको अग्रणी भूमिका रहको चर्चासमेत गरिन् । समारोहको आयोजक संस्था नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बासकोटाले नेपाली संगीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको चर्चा रहेको चर्चा गर्दै लगातार तीन वर्षसम्म नातिकाजी राष्ट्रिय संगीत सम्मान र पुरस्कार वितरण समारोहलाई महत्वका साथ समय दिएकोमा राष्ट्रपति भण्डारीप्रति आभारसमेत व्यक्त गरे । बासकोटाले नातिकाजीलगायत गीत–संगीत क्षेत्रलाई आजको दिनसम्म ल्याई पुण्याउने संगीतकर्मीको नाममा राष्ट्रले नै सम्मान र पुरस्कारको व्यवस्था गर्नुपर्ने मागसमेत दोहोर्याए ।

कार्यक्रममा गायक–गायिका राज सिग्देल, दीपा नारायण झा, माण्डवी त्रिपाठी र अस्मिता अधिकारीले नातिकाजीद्वारा संगीतबद्ध गीत गाएर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्