मिस लिम्बू देशबाहिरबाट समेत छानिने



याक्थुङ युथ एसोसिएसनले शनिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी सम्मान मिस लिम्बूको छैटौँ संस्करणका लागि आवेदन खुला भएको जनाएको छ ।

लिम्बू समुदायको बसोबास रहेको स्थानलाई मध्यनजर राख्दै प्रतियोगिताका लागि नेपालसहित भारतको सिक्किम, दार्जिलिङ, युके र हङकङमा पनि अडिसन गरिने आयोजक संस्थाका अध्यक्ष एवं गायक भीम लिम्बूले जानकारी गराए । उनका अनुसार काठमाडौंमा फागुन ६ र धरानमा माघ २८ गते अडिसन हुनेछ । सिक्किम, दार्जिलिङ, युके र हङकङमा भने आवेदन दिनेको संख्या हेरेर अडिसनको मिति तय गरिने आयोजकले जनाएका छन् ।

कार्यक्रमका संयोजक तथा गायक रुकमान लिम्बुका अनुसार प्रतियोगितामा भाग लिनका लागि न्यूनतम एसईई उत्तीर्ण १७ देखि २६ वर्ष नकटेका लिम्बु समुदायका अविवाहित हुनुपर्ने छ । प्रतियोगितलाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदीक्षा श्रेष्ठले कोरियोग्राफी गर्नेछिन् भने शीर्ष विजेताले नगद ५० हजारसहित स्कुटी पाउनेछन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ । त्यस्तै, फस्ट रनर्सअपले एक लाख र सेकेन्ड रनर्सअप विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छन् ।

प्रतिक्रिया दिनुहोस्