नेपाल–भारत कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा ‘संगीत सुकुन’



काठमाडौं।

भारत स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउन काठमाडौंस्थित भारतीय दूतावासले उपत्यकाका विभिन्न स्थानमा ‘संगीत सुकुन’ नामक सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

संगीत सुकून कार्यक्रमअन्तर्गत भारतको सांगीतिक समूह कर्नाटिक २.० ले शनिबार पाटन दरबार स्क्वायरमा सांगीतिक प्रस्तुति दिएको थियो । यसअघि शुक्रबार भारतीय दूतावासले काठमाडौंको टुंडिखेलस्थित नेपाली सेनाको अडिटोरियमबाट संगीत सुकूनको शुरुवात गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, प्रधान सेनापति श्री प्रभुराम शर्मा, मधेशी नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा भारतीय सांगीतिक समूह कर्नाटिक २.० र नेपाली सांगीतिक समूह कुटुम्बले आ–आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । कर्नाटिक २.० सांगीतिक समूहले परम्परागत कर्नाटक राग र पुराना बलिउड गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरेको थियो भने नेपाली सांगीतिक समूह कुटुम्बले नेपाली मौलिक संगीत प्रस्तुत गरेको थियो ।

कार्यक्रममा दुई सांगीतिक समूहले “तालको पानी माछीले खानी…” बोलको नेपाली लोक गीत पनि एक साथ प्रस्तुत गरेका थिए ।
भारतीय सांगीतिक समूह कर्नाटिक २.० ले कर्नाटक सङ्गीतको विभिन्न रागलाई पश्चिमा सङ्गीतसँग संयोजन गरी संगीतमा नयाँ प्रयोग गर्दै आएको छ । त्यसैगरी कुटुम्ब विभिन्न नेपाली लोक बाजा प्रयोग गरी नेपाली मौलिक संगीतलाई संरक्षण एवं प्रवर्धन गर्न समर्पित सांगीतिक समूह हो ।

प्रतिक्रिया दिनुहोस्