बुहारीको हत्या अभियोगमा परिवारका ४ जनालाई जन्मकैद



हेटौंडा ।

भुईंमा बसेर खाना खाइरहेकी बुहारीलाई पछाडिबाट लौरो र मसला पिँध्ने लोहोरोले टाउकोमा लगातार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका ससुरासहित परिवारका ४ जनालाई जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला सुनाएको छ ।
हेटौंडा उपमहानगरपालिका–४ की २४ वर्षीया सुस्मिता केसीको हत्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाईंलाई जन्मकैद फैसला सुनाइएको हो ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेलको शुक्रबारको इजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र दुर्गाका पति (ज्वाईं) अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासु तुलसाकुमारी थापालाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको हो ।

पुर्पक्षका लागि थुनामा रहेका उनीहरुलाई पुस २३ गते न्यायाधीश सञ्जेलको एकल इजलासले दोषी ठहर गरेको थियो । भान्सामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउकोमा ससुराले पछाडिबाट काठले हिर्काएको प्रहरी अनुसन्धानमा खुलेको थियो । सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिँध्ने लोहोरोले टाउकोमा हिर्काएकी थिइन् ।

भान्सामा हत्या गरिएको अवस्थामा सुस्मिताको शव फेला परेको थियो । परिवारले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेको थियो । सुस्मिताको २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका–४, कर्रास्थित घरमा हत्या गरिएको थियो । प्रहरीले घटना भएको केही दिनमै हत्या आरोपमा ससुरा, सासु, दुई नन्दलाई पक्राउ गरेको थियो भने ज्वाईंले केही महिनापछि मकवानपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

कपिलबस्तुको बाणगंगा नगरपालिकाकी सुस्मिताको हत्या भएको करिब साढे २ वर्षपछि अभियुक्तहरु दोषी ठहर भएका हुन् । चार दिनको निरन्तर बहसपछि पुस २१ गते बिहीबार पाँचै जना अभियुक्तलाई दोषी ठहर गरिएको हो । मृतक सुस्मिताका बुबा कृष्णबहादुर केसीले २०७७ असार २९ गते पाँच जनाविरुद्ध मुद्धा दर्ता गराउनु भएको थियो ।

जाहेरवालाका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधीवक्ता मुकुन्दहरी पौडेल, जिल्ला सहायक न्यायाधीवक्ता राजेन्द्रमणि पौडेल, अधिवक्ताहरु राजेन्द्र शर्मा, मदनकुमार दाहाल, मनप्रसाद भट्टराई, अप्सरा बस्नेत, बालकृष्ण अधिकारीले बहस गर्नुभएको थियो भने प्रतिवादीतर्फका आधा दर्जन अधिवक्ताले बहस गरेका थिए ।

मुख्य अभियुक्तका रुपमा ससुरा र कान्छी नन्द सीता थापालाई जन्मकैद सजाय माग गरिएको थियो । दुर्गा र अरुण कार्कीलाई आपराधिक षडयन्त्र गरेको अभियोगमा जन्मकैद माग गरिएको र मृतक सुस्मिताकी सासु तुलसाकुमारीलाई मतियारको भूमिका निर्वाह गरेकाले मुख्य अभियुक्तको पाउने सजायको आधा सजाय मागदाबी गरिएको अधिवक्ता अप्सरा बस्नेतले बताउनुभयो ।

असार २ गते शव फेला परेकी सुस्मिताको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले असार १५ गते सार्वजनिक गरेको थियो । २०७६ बैशाख १८ गते बिहे भएकी सुस्मिताका पति रुपेन्द्र थापाको हेटौंडा आउँदै गर्दा २०७६ असोज २३ गते नवलपरासीमा भएको मोटरसाइकल दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ ।

पतिको निधनपछि सुस्मितालाई परिवारले मानसिक यातना दिनुका साथै क्रुरढंगले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको भनाइ छ । प्रहरीले आर्थिक, मानसिक र यौनजन्य हिंसापश्चात् सुनियोजितरुपमा परिवारबाट हत्या भएको निष्कर्ष निकालेको छ । प्रहरीले १३ दिनको अनुसन्धानपश्चात् घटनाको टुंगो लगाएको थियो ।

मृतकका पतिको दुर्घटनामा निधनपश्चात् पाउने क्षतिपूर्तिबापत् रकम ५ लाख सुस्मिताले प्राप्त गरेको र घरपक्षले ‘हामीले पाउनुपर्छ’ भनेर विवाद सिर्जना गरेका थिए । रुपेन्द्रको निधनपश्चात् उनको बीमाबापत् आउने करिब ४० लाख, उनी कार्यरत् क्लोजर सिस्टम इन्टरनेसनल (सीएसआई) बाट आउने तलबभत्ता तथा बोनस ससुरा प्रकाश आफूले पाउनुपर्ने दाबी गर्दै आएको प्रहरीले जनाएको छ ।

मृतककी पतिको निधनपश्चात् दुर्घटना बीमा, सामाजिक सुरक्षाकोष तथा कार्यरत् संस्थाबाट करिब ५५ लाख ६० हजार ३ सय २४ रुपियाँ प्राप्त भएको रकमको विषयलाई लिएर परिवारमा कलहको अबस्था सिर्जना भएको थियो ।मृतक केसीलाई परिवारका सदस्यहरुले पति मर्नुमा उनकै दोष हो भनी पटकपटक मानसिक तनाव दिँदै आएको प्रहरीले खुलाएको छ ।

सुस्मितालाई ससुराले घरको बाथरुमा यौन दुव्र्यवहारको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ । परिवारका सदस्यले आर्थिक प्रलोभन र यौन दुव्र्यवहार लुकाउन सुस्मिताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । आफूले गरेको करणी प्रयास बाहिर आउँदा आफ्नो सामाजिक प्रतिष्ठा खेर जाने र छोराको निधनपश्चात् प्राप्त रकमको विषयलाई लिएर हत्या गरिएको देखिने प्रहरीले पत्रकार सम्मेलनमा भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्