प्राचीन बनेपा महोत्सव : सांस्कृतिक नृत्यमा झुमे बनेपावासी



बनेपा ।

प्राचीन बनेपा महोत्सवमा विविध परम्परागत नृत्यसँगै बनेपावासी दिनभर झुमेका छन् ।
महोत्सवको प्रमुख आकर्षण पक्ष रहेको बनेपाको गणेश स्थानमा सम्पन्न सांस्कृतिक कार्यक्रममा विविध परम्परागत नृत्यहरु समेटिएको नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सदस्य तथा बनेपा कला परिषद्का अध्यक्ष मोहन तौजलेले बताए ।

नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले यस किसिमका कार्यक्रमले लोपोन्मुख मौलिक परम्परा, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धनमा टेवा पुग्ने बताए । त्यस्तै कार्यक्रममा नृत्य निर्देशक संघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्दले यस किसिमको कार्यक्रम समय समयमा हुनुपर्ने बताए । अध्यक्ष चन्दले देशको मौलिक कला, संस्कृति, परम्परा, भाषा, भेषभुषा लगायतको संरक्षण सम्बद्र्धनमा सक्रिय रहेको कला क्षेत्रलाई राज्यले सधैं उपेक्षा गरेको बताए । उनले अरु क्षेत्रमा राज्यले बजेट छुट्याउँदै आए पनि कला क्षेत्रमा खासै बजेट नछुट्याउनु दुर्भाग्य भएको बताउँदै राज्यलाई कला क्षेत्र र कलाकारिताकोलागि बजेट छुट्याउन आग्रह गरे ।

कार्यक्रममा विविध चर्या नृत्य तथा नेवारी एवम् मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । विविध सांस्कृतिक नृत्यमा बनेपा बासी दिनभर रमेका थिए । यस किसिमको कार्यक्रम हेर्न पाउँदा खुसी लागेको उपस्थित बनेपाका एक दर्शकले बताए ।

कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, केन्द्रीय सह कोषाध्यक्ष केशव कोइराला, केन्द्रीय सदस्य मोहन तौजले, बागमती प्रदेश उपाध्यक्ष दीपक बज्राचार्य, भक्तपुर शाखाका अध्यक्ष चूडामणि फुयाँल, पाटन शाखा सल्लाहकार गौतम नकर्मी, काठमाडौँ शाखा सहसचिव छिरिङ लामा लगायतको उपस्थिति रहेको थिए ।

कार्यक्रममा कलाकार पलिष्था नकर्मी, मोहन तौजले, सिद्धार्थ वनस्थली इन्स्टिच्युट पनौती कालबाटिका विद्या मन्दिर बनेपा, क्रियटिभ बचत, सामुदायिक स्कुल पनौती, उरा डान्स लगायतको आकर्षक नृत्यले कार्यक्रमको शोभा बढाएको थियो ।

प्राचीन सहरको रुपमा परिचित बनेपाको ऐतिहासिकता चिनाउन माघे संक्रान्तिको दिनमा विविध कार्यक्रम सहित सांस्कृतिक महोत्सव सम्पन्न भएको हो ।

दरबार, चोक, मन्दिर र वनको आफ्नो महत्त्व भए पनि प्रचार अभावले ओझेलमा परेपछि काभ्रे युवा उद्यमी मञ्चको आयोजनामा बनेपालाई चिनाउन माघ १ गते प्राचीन बनेपा महोत्सव सम्पन्न भयो । मौलिक सांस्कृतिक सम्पदाको प्रवर्द्धन र संरक्षणका लागि माघ १ गते बनेपामा प्राचीन बनेपा (भ्वतः) महोत्सव आयोजना गरिएको आयोजकले बताए । काभ्रे उद्यमी युवा मञ्चको आयोजनामा र बनेपा नगरपालिका र काभ्रे उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न प्राचीन बनेपा महोत्सवमा विविध सांस्कृतिक, परम्परागत नृत्यको संयोजन नृत्य निर्देशक संघ नेपाल काभ्रे र बनेपा कला परिषद्ले गरेको थियो ।

काभ्रे उद्यमी युवा मञ्चका अध्यक्ष सरोज काजी श्रेष्ठले प्राचीन बनेपाको ऐतिहासिकतालाई प्रचार गराउन र विश्वसामु चिनाउनको प्राचीन बनेपा अर्थात भ्वतः महोत्सव आयोजना गरिएको जानकारी दिए । ऐतिहासिक महत्त्व बोकेको बनेपाको प्राचीन सम्पदा र संस्कृतिको प्रवर्द्धन र संरक्षणका लागि बनेपा (प्राचीन नेवारी शब्द भ्वतः) महोत्सवको आयोजना गरिएको बताउँदै अध्यक्ष श्रेष्ठले यस महोत्सवले बनेपाको धार्मिक, सांस्कृतिक एवं पर्यटनको विकासमा टेवा पुग्ने धारणा राखे ।

ऐतिहासिक महत्त्व बोकेको बनेपाका विभिन्न स्थानमा मौलिक एवं परम्परागत सामग्रीहरू प्रदर्शनीका लागि राखिनेछ । यसका साथै सांस्कृतिक बाजागाजाको प्रस्तुति, सांस्कृतिक कला, घरेलु उत्पादन, बनेपा चिनाउने फोटो प्रदर्शनी, रञ्जना लिपी लेखन कार्यक्रम, सुकुल भोजलगायत विभिन्न कार्यक्रमहरु समेटिएका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्