आश्वासनले जगाएको आश



नेपालगन्ज–१७ की निर्मला कुर्मीलाई सम्पत्तिका लागि अपहरण गरी बेपत्ता बनाएको भन्ने विषय अहिले चर्चामा आएको छ । २०६६ सालमा आफ्नै घरबाट बेपत्ता भएकी कुर्मीको नाममा रहेको जग्गा भूमाफियाले आफ्नो नाममा पार्न कुर्मीको अपहरण गरी बेपत्ता बनाएको आरोप लाग्दै आएको समाचार छ । निर्मलाको न्यायका लागि उच्चस्तरीय छानबिन समिति गठन गरी त्यसको प्रतिवेदनसमेत सरकारले बुझेको छ ।

यसै विषयलाई लिएर आफ्नो मागको सुनुवाइ नभएको भन्दै माइतीघर मण्डलामा आएर धर्ना दिइएपछि गत शनिबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने धर्नास्थलमा पुगी निर्मलाको न्यायका लागि आफूले कदम चाल्ने आश्वासन दिनुभएको छ । निर्मलाको न्यायका लागि लामिछाने राजनीतिमा आउनुभन्दा अघि पनि आवाज उठाउँदै आउनुभएको थियो । हिजोको सरकारले निर्मलालाई अपहरण गर्नेमाथि कारबाही नगरेको भन्दै चर्को स्वरमा आलोचना गर्दै आएका गृहमन्त्री लामिछानेले आफू पदमा पुगेपछि निर्मलाका न्यायका लागि जस्तोसुकै परिस्थिति आए पनि दोषीलाई कारबाहीको दायरामा ल्याउने आश्वासन दिनुभएको छ ।

गृहमन्त्री लामिछानेले उक्त घटनामा जोसुकै संलग्न भए पनि दोषीलाई कारबाही गरेरै छाड्ने बताउनुभएको छ । गतवर्ष नै गृह मन्त्रालयले सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन पनि बुझाएको थियो । प्रतिवेदनले केही व्यक्तिलाई दोषी देखाउँदै कारबाहीको सिफारिस गरेको थियो । तर कारबाहीको प्रक्रिया अगाडि बढाइएको थिएन ।

छानबिन समितिले कुर्मीको अवस्था अज्ञात रहेको र उनको नाममा रहेको साढे चार बिघा जग्गा अरूकै नाममा नामसारी भएको देखिएको निष्कर्ष निकालेको थियो । सो प्रतिवेदनउपर कारबाही प्रक्रिया अगाडि नबढाएको भन्दै अहिले माइतीघर मण्डलामा धर्ना हुँदा गृहमन्त्रीले न्यायका लागि कदम चाल्ने आश्वासन दिनुभएको छ । अब सो आश्वासन अगाडिका मन्त्रीहरुको जस्तो आश्वासनमा मात्रै सीमित नरहोस् । यसले न्यायको केही आशा जगाएको छ ।
– सारा कायस्थ, नेपालगन्ज

प्रतिक्रिया दिनुहोस्