पुरानो विमानस्थल नजिकै यतीको विमान दुर्घटना

विमानमा सवार ७२ जनाको मृत्यु ,६८ को सनाखत



पोखरा । 

पोखराको पुरानो विमानस्थल नजिकै यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आएको विमान टेक अफको अनुमति पाइसकेको अवस्थामा पुरानो विमानस्थलदेखि करिब दुई सय मिटरको दूरीमा दुर्घटना भएको हो । चार चालक दलसहित ७२ जना सवार विमान दुर्घटनामा परेको हो ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको धेरै भएको छैन । पुरानो विमानस्थल बन्द गर्दै तत्कालका लागि आन्तरिक उडान शुरु गरेको विमानस्थल सञ्चालनमा आएको हप्ता दिन नबित्दै यतीको विमान दुर्घटनामा परेको हो । यो समाचार तयार पार्दासम्म जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले ६३ शव अस्पतालमा आइपुगेको जानकारी दिनुभयो ।

‘अहिलेसम्म ६३ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्युको संख्या बढ्ने अनुमान गरिएको छ । यद्यपि अस्पतालको आधिकारिक सूचनाअनुसार ६३ शव छन्’, उहाँले भन्नुभयो– ‘म बिहानदेखि अस्पतालमै छु । मलाई रिपोर्टिङ भएअनुसार त्यति नै हो उद्धार कार्य जारी छ । बाँकी विवरण पछि आउँछ ।’

उता यती एयरलाइन्सले भने ६८ जनाको मृत्यु पुष्टि भएको बताएको छ । विज्ञप्ति जारी गर्दै ६८ जनाको मृत्यु भएको बताएको छ । काठमाडौंबाट बिहान १० बजेर ३२ मिनेटमा उडेको ९ एन–एएनसी, एटीआर ७२५०० वायुयान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

विमानमा चालक दलका ४ जना, ३७ जना पुरुष, २५ जना महिला, ३ बालबालिका, ३ शिशु, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, एक जना अर्जेन्टिनी, एक जना आइरिसियन र एक जना फ्रान्सेली नागरिक रहेका थिए । विमान १० बजेर ५० मिनेट जाँदा सेती खोँचमा खसेको यती एयरलाइन्सले विज्ञप्तिमार्फत जानकारी गराएको छ । स्थानीयहरुले भने निकै कम उचाइमा जहाज उडेको बताए ।

निकै नजिकबाट उडेको थियो: स्थानीय

विमानका चालकले बस्ती बचाएको स्थानीयले बताएका छन् । बस्तीमै खस्न लागेको जहाजलाई पाइलटले सेतीमा पु¥याएको उनीहरु बताउँछन् । सेती नागबेली टोलका बालबालिकाहरु बाहिर बसिरहेका थिए । कोही खेलिरहेका थिए त कोहीले घरकै काम गरिरहेका थिए । घरको छतमा बसेर आमालाई सघाइरहेकी अनिसा अधिकारी भन्नुहुन्छ– ‘प्रेसर कुकुरको ढकनी खोल्दै थिएँ । अचानक घरकै माथि जहाज देखेपछि डर लाग्यो ।’

‘म छतमा बसेर प्रेसर कुकर खोल्दै थिए । प्लेन त घरमै ठोक्किएलाजस्तो भयो । पूरै हल्लिँदै आएको थियो प्लेन । अनि खस्यो । कति ठूलो आवाज आएको थियो । यहींसम्म हल्लिएको थियो पूरै । आवाज सुन्दै डर लाग्ने थियो । अनि मैले ममीलाई प्लेन क्र्यास भयो भनेपछि ममी पनि निस्किनुभयो’ –अनिसाले भन्नुभयो ।

यस्तै घरबाहिर बसेर मोबाइल रीता अधिकारीले आफूले जहाज बटारिँदै आएको सुनाउनुभयो । ‘उताबाट (उत्तरतिरबाट) प्लेन आएको थियो । हाम्रो घरको माथि नै छुन्छ जस्तो गरेर आएको थियो । म बाहिर बसिरहेको थिएँ । सानो बहिनी स्कुटरमा बसेकी थिई । अनि प्लेन त घरमै खस्ला जस्तो गरेर आयो भनेँ । खसेको त देखिनँ तर निकै ठूलो आवाज आएपछि धूवाँको मुस्लोले पूरै घरहरु ढाक्यो । हामी त डराएर भाग्यौं । अनि पछि हेर्न गएको त खुट्टा माथि टाउको तल झुन्डिएको देखियो । बचाउन कोही पनि गएनन्’ –रीताले भन्नुभयो ।

बाल्टिबाट पानी हाल्यौं: स्थानीय इन्द्रध्वज बरुवाल

हामी गेम खेलेर आउँदै थियौं । प्लेन हेर त घरकै छेउमा यार हामीलाई ठोक्छ कि क्या हो भनेँ । हुइँय्य आवाज आयो । बाँसघारी नजिकै दुर्घटना भयो । प्लेन सिधा थियो पछि ग्वाम्मै गाडियो र आवाज आयो । यो प्लेन दुर्घटना भएको १० बजेर ५५ देखि ५७ मिनेटको बीचमा हो । अनि म घरसम्म पुगे साथी रेस्टुरेन्टमा पुग्यो । आत्तिएका थियौं । ओइ यसरी त हुँदैन कोहीको उद्धार हुन्छ कि जाऊँ भनेर म भागरे आएँ ।

भाग्दाभाग्दै मैले प्रहरीलाई समेत फोन गरेँ । ठीक ११ बजे । हामी तीन जना आयौं कोही थिएनन् । बाल्टीबाट पानी पनि हाल्यौं । दुई जनाको त प्राणै थियो । मैले नै हो एम्बुलेन्समा बढाएको पछि के भयो मलाई थाहा भएन । रगतै रगत थियो । ६ जना अलि नजलेको अवस्थामा थिए । हामीले तानिहाल्यौ अरु चाहिँ ढिला भयो जल्दैजल्दै तल खस्यो । पानीका दमकलहरु, पुलिस, आर्मीहरु आएपछि उहाँहरुले हजुरहरुलाई रिक्स हुन्छ अब यहाँ नबस्नुस् भनेपछि हामी हट्यौं । ६ वटा शव त हामीले नै निकालेका हौं ।

दुर्घटनास्थलदेखि करिब ५० मिटरको दूरीमा बस्ने मैते तामाङले प्लेन खसेको नदेखेको तर दुर्घटनापछि बलेको आगोले आँखा पोलेको सुनाउनुभयो । ‘सधैँ माथिबाट प्लेन उड्थ्यो । आवाज आउँथ्यो आज अलि बढी नै ठूलो आवाज सुनेँ प्लेन देखिनँ । पछि यहाँ खसेछ पूरै थर्कायो । म बाहिर बसेर ज्याकेटको धूलो झार्दै थिएँ । ठूलो आगो बलेपछि आँखा पोल्यो हेर्नै सकिएन अनि भागेँ’ –उहाँले भन्नुभयो ।

विमानमा सवार यात्रुहरु

किसान आचार्य, निशान्त आचार्य, शालिकराम आचार्य, सदकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ, स्लक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्की गुरुङ, शिवकुमार गुरुङ, सीता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले, सीताकुमारी खड्का, अनिलकुमार राजभार, भगवती कुँवर, अभिषेक कुशवाह, ओममाया गुरुङ, सूक्ष्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रीता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगीता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चूर्ण थापा, गणेश थापा, लवराज तिमिल्सिना, मेरोल लभ, आयुरी ल्यागिन, भिक्टर ल्यागिन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुआनकालुम क्रिघ्टोन, एलेक्जेन्डर आइरिडोरे, कृष परियार, प्रसिद्धि पौडेल, आयुर्दी शर्मा, बेबी शर्मा

चालक दल: कमल केसी, अञ्जु खतिवडा, सिर्जना होंगचुन र ओसिन आलेमगर

प्रतिक्रिया दिनुहोस्